काठमाडौँ । आम निर्वाचन भएर नयाँ संसद् गठन भएको नौ महिना पछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले सार्वजनिक गरेको कार्यसूची अनुसार आज विषयगत तथा प्रक्रियागत समितिहरूको सभापतिका लागि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुँदै छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार समिति सभापतिका लागि आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन समय सीमा तोकिएको छ ।
प्रमुख दलहरू बिच सहमति हुन नसक्दा ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया नौ महिनासम्म अवरुद्ध हुन पुगेको थियो । समितिको सभापति नहुँदा संसदीय समितिले गर्नु पर्ने काम कारबाहीहरू प्रभावित हुँदै आएका थिए ।
सांसदका १० वटै विषय र प्रक्रियागत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप आज उम्मेदवारी दर्ता हुन लागेको हो । जसअनुसार भोलि संसदीय समितिहरूले नयाँ सभापति पाउने छन् ।
हालसम्म समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।
प्रतिक्रिया