काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका हुन् ।
नेपालमा क्रिकेटप्रतिको बढ्दो आकषर्ण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तिव्रता दिनुपर्ने बताए।
नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप क्रिकेट खेल्नका लागि आज राति पाकिस्तान जादै छ । भदौ १३ गते एसिया कपको उद्घाटन खेलमा घरले टोली पाकिस्तानसँग खेल्ने टोलीले त्यहाँ केही दिन अभ्यास गर्ने छ । पाकिस्तान र श्रीलंकामा हुन लागेको एसिया कप क्रिकेट खेल्न जानु अघि नेपाली क्रिकेट टिमले आज विहान पशुपतिनाथ मन्दिरको दर्शन गरेको थियो । नेपाली टोलीलाई होटेल एभरेष्टमा क्यानले औपचारिक विदाई गरेको छ ।
एसिया कपमा नेपालले पाकिस्तानपछि श्रीलंका गएर भारतसँग खेल्ने छ । यो खेल भदौ १८ गते हुने छ । नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्ने छन् । स्टार खेलाडी सन्दीप लामिछाने भने आज नेपाली टोलीसँग पाकिस्तान जाने छैनन् । उनीविरुद्धको अदालती मुद्दा विचाराधिन रहेको र अन्तिम बहसको काम सुरु हुने तयारी भएकाले आजै उनी नजाने र एसिया कप अगाडि प्रक्रिया टुंगोमा पुगेमा सन्दीप जाने क्यानका पदाधिकारीले बताएका छन् ।
प्रतिक्रिया