देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ : प्रधानमन्त्री

देशान्तर


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन् ।
भरतपुर २२०÷१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे ।
उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको बताउँदै उहाँले आसन्न चीन भ्रमणमा पनि विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुने बताए । प्रधानमन्त्री प्रचण्डले धेरैभन्दा धेरै विद्युत् स्वदेशमा खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ सरकारको जोड दिएको स्पष्ट पारे । उहाँले विद्युत् क्षेत्रको विकासमा उत्पादन, प्रसारण र वितरणको नीति लिइनुपर्ने भन्दै विगतको तुलनामा विद्युतको उत्पादन बढेको बताए । नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
सबस्टेसन २०७७ साल असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । सात अर्ब ९४ करोड कूल लागतमा निर्माण भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।