काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले मनोमानी गरेपछि भ्रातृसंस्थाहरूमा भाँडभैलो सुरु भएको छ । नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, किसान संघ, तरुण दल सबैमा भाँडभैलो देखिएको छ ।
सभापति शेरबहादुर देउवा निकट महिला संघ अध्यक्ष उषा मिश्र राउतले एक दर्जनभन्दा बढी महिला संघमा जिल्ला सभापति बर्खास्त गरेपछि महिला संघमा भाँडभैलो भएको छ । महिला संघको केन्द्रीय समिति नै पूर्ण नभएको अवस्थामा नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउतले संस्थापन इतरका जिल्ला अध्यक्षहरू हटाएपछि संस्थापन इतर समूहले समानान्तर समिति गठनको तयारी थालेको छ । संस्थापन इतर समूहका २० जना केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति निकालेर हटाएकालाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी दिइसकेका थिए । यसका लागि महिला नेतृहरूलाई इतर समूहका नेताहरू डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरूलाई भेटेर जिल्ला सभापति हटाएका जिल्लाहरूमा समानान्तर समिति गठन गर्न भनिसकेको बताइएको छ ।
त्यस्तै, नेपाल विद्यार्थी संघको केन्द्रीय समितिलाई पूर्णता दिँदासमेत सहमति उल्लंघन गरेका छन् । नेपाल विद्यार्थी संघमा ५५१ जनाको केन्द्रीय समिति ल्याउने सहमति विपरीत ७१० जनाको केन्द्रीय समिति ल्याएका छन् । नेविसंघमा ५५१ जना ल्याउने सहमति दुई पक्षमा भएको तर अप्रत्याशित रूपमा ७१० जनासहितको तदर्थ समिति बनेपछि संस्थापनइतर आश्चर्यमा परेको छ । संस्थापन इतर समूहले दिएका नामसमेत काटिएको गुनासो विद्यार्थी नेताहरूले गरेका छन् । असन्तुष्ट समूह तीनबुँदे माग राखेर ३१ साउनबाट सानेपामा रिले अनशनमा छ । शेखर–गगननिकट यो समूहले समानान्तर कार्यसमिति घोषणाको तयारी गरेको थियो । समिति घोषणा नगरिए पनि यो समूहले ‘विधानसम्मत नेविसंघ केन्द्रीय कार्यसमिति’को नामबाट गतिविधि गरिरहेको छ । काठमाडौं कार्यसमितिमा समानान्तर गतिविधि नै सुरु भएको छ । अनावश्यक रूपमा ठूलो कार्यसमिति बनाइएको र कार्यसमितिमा पदाधिकारी तथा सदस्य मनोनीत गर्दा एकलौटी गरिएको, संविधान र नेविसंघकै विधान पनि मिचिएको असन्तुष्टहरूको आरोप छ । केही केन्द्रीय सदस्यहरूले विज्ञप्ति निकालेर आफूहरू यस्तो भद्रगोल समितिमा नबस्ने भन्दै राजीनामा पनि दिएका छन् ।
यस्तै समस्या नेपाल तरुण दलमा पनि रहेको नेताहरूले बताएका छन् । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पनि धेरै जिल्लामा संस्थापन इतर समूहलाई जानकारी नै नदिई जिल्ला अध्यक्ष बनाएको भन्दै असन्तुष्टि रहेको छ । त्यस्तै समस्या नेपाल किसान संघमा पनि देखिएको छ ।
प्रतिक्रिया