काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूको श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना ‘ब्रेक थ्रु’ भएको जिकिर गरे ।
‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’
अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।
उनले अहिलेसम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको बताए । सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीका अनुसार अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिकको २० दशमलव ३७ प्रतिशत रकम योगदान गर्नुपर्ने छ ।
प्रतिक्रिया