काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकलगत्तै पार्टीभित्र मनोमानी बढ्न थालेका छन् । सभापति देउवा मनोमानी ढंगले अगाडि बढ्न थालेपछि पार्टी सृदृढीकरणको अभियान चलिरहेका बेलामा पार्टीको अन्तरिक विवाद छताछुल्ल भएको छ । देउवा निकट महिला संघ अध्यक्ष उषा मिश्र राउतले एक दर्जनभन्दा बढी महिला संघमा जिल्ला सभापति बर्खास्त गरेकी छन् ।
जबकि महिला संघको केन्द्रीय समिति नै पूर्ण भएको छैन । नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र राउतले संस्थापन इतरका जिल्ला अध्यक्षहरू हटाएकी हुन् । महिला संघको केन्द्रीय अध्यक्ष उषा राउत मिश्रले संस्थापन इतर समूहमा रहेका जिल्ला सभापतिहरू हटाएर एकलौटी मनोमानी ढंगले मनोनीत गरेकी छन् । मिश्रले सोलुखुम्बुकी छिल्हामु शेर्पा, बाराकी सीता मैनाली, पर्साकी विद्या श्रेष्ठ, सिरहाकी विमला निरौला, ताप्लेजुङकी मीना गुरुङ, इलामकी निर्मला सञ्जेल, महोत्तरीकी अध्यक्ष वीना तिवारी, रौतहटकी भुवनी गिरी, कास्कीकी कोपिला रानाभाट, झापाकी सुशीला ढकाल र हुम्लाकी विजया बुढालाई हटाएकी थिइन् । साउन २२ मा पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन संस्थापनइतरले अध्यक्ष मिश्रलाई चेतावनी दिएको छ । २० जना केन्द्रीय सदस्यले संयुक्त विज्ञप्ति निकालेर हटाएकालाई पुनर्बहाली नगरे देशभर समानान्तर समिति गठन गर्ने चेतावनी दिएका छन् ।
त्यस्तै, नेपाल विद्यार्थी संघको केन्द्रीय समितिलाई पूर्णता दिँदासमेत सहमति उल्लंघन गरेका छन् । नेपाल विद्यार्थी संघमा ५५१ जनाको केन्द्रीय समिति ल्याउने सहमति विपरीत ७१० जनाको केन्द्रीय समिति ल्याएका छन् । नेविसंघमा ५५१ जना ल्याउने सहमति दुई पक्षमा भएको तर अप्रत्याशित रूपमा ७१० जनासहितको तदर्थ समिति बनेपछि संस्थापनइतर आश्चर्यमा परेको छ । संस्थापन इतर समूहले दिएका नामसमेत काटिएको गुनासो विद्यार्थी नेताहरूले गरेका छन् । गत सोमबार तदर्थ समिति बनाइएको थियो । त्यसविरुद्ध संस्थापनइतरका विद्यार्थीहरू विरोधमा उत्रिएका छन् ।
त्यसैगरी देउवाले अनुशासनको कारबाही पनि मनोमानी ढंगले थालेका छन् । पर्सा र कैलालीमा पार्टीले दुई जनालाई अनुशासनको कारबाही मनोमानी ढंगले गरेका छन् । पर्सा–१ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई अनुशासन समितिका केन्द्रीय संयोजक आनन्द ढुंगानाले पत्र लेखेर पार्टी गतिविधिबाट बाहिर राखेका छन् । पार्टी सृदृढीकरणको अभियान सुरु हुनु एकदिन अघि जिल्ला पर्साका सभापति जनार्दन सिंह क्षेत्रीलाई पत्र लेखेर गुप्ताले निर्वाचनको बेला असहयोग गरेको भन्दै पार्टीका काममा रोक लगाइएको हो । गुप्ता छानबिनका क्रममा रहेकाले क्षेत्रीय उपसभापतिलाई आन्तरिक संगठनात्मक क्रियाकलापको जिम्मेवारी दिइएको छ । १५ साउनमा जिल्ला अनुशासन समिति पर्साले केन्द्रमा पत्र लेख्दै प्रदेश र प्रतिनिधिसभाका आधिकारिक उम्मेदवारलाई गुप्ताले असहयोग गरेको जानकारी गराएको थियो ।
केन्द्रको पत्रअनुसार जिल्ला सभापति क्षेत्रीले पर्सा १ को कार्यवाहक क्षेत्रीय सभापतिमा अनिलप्रसाद सिंहलाई तोकेका छन् । संस्थापन पक्षले पार्टी सृदृढीकरणको समयमा नियोजित रूपमा अर्को पक्षका कार्यकर्तालाई कारबाही गरेको हो ।
कैलाली–४ का नेता एवं तरुण दलका केन्द्रीय सदस्य लोकराज पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । जिल्ला सभापति नारायणदत्त भट्टले पाण्डेलाई अनुशासनको कारबाही गरेका हुन् ।
सभापतिको पत्रले कैलालीमा पार्टीभित्र विवाद बढेको छ । जिल्ला उपसभापति भीम बडुवाल सभापति भट्टको प्रतिवादमा उत्रेका छन् । बिहीबार बडुवालले विज्ञप्ति निकालेर प्रतिरोध साँधेको आरोप लगाएका छन् । कारबाहीमा परेकालाई पार्टी कार्यमा लाग्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया