हाल प्रतिबन्धित रहेको गाँजा खेतीलाई आर्थिक वर्ष २०८०-०८१ को बजेटमा अर्थमन्त्रीले गाँजा खेतीको सम्भाब्य अध्ययन गरिने प्रावधान अघि सारेको सन्दर्भमा आर्थिक, स्वास्थ्य, सामाजिक र कानुनी दृष्टिकोण गरी चारओटा कोणबाट यसको विश्लेषण अघि बढ्नुपर्छ ।
नेपालमा पर्यटक आउने चलन सन् १९६० को दशकमा गाँजा खाने संस्कृतिबाट विकास भएको हो । यहाँ २०३३ सालभन्दा अगाडि गाँजा प्रतिबन्धित थिएन भने २०३३ सालपछि यसको खेती र बिक्रीलाई गैरकानुनी बनाइयो ।
तर हाल विभिन्न औषधिका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएपछि र त्यो बेलामा नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिने तथा अन्य विश्वका ६० मुलुकहरूले अहिले प्रतिबन्ध हटाइसकेको अवस्थामा साथै अमेरिकाले गाँजा खेती खुल्ला गरेपछि अन्य देशले विरोध गरेर खासै फरक नपर्ने हुनाले नेपालमा गाँजाको खेती र कारोबार खुला गर्नुपर्छ भन्ने बहस सुरु हुनु स्वाभाविक हो ।
काउली र बन्दा उत्पादन गरेर मात्र आर्थिक समृद्धि प्राप्त नहुने हुनाले यसका लागि हामीसँग जे छ त्यही बेच्ने वा त्यसको सदुपयोग गर्ने हो । अहिले हामीसँग बाटोघाटो नभएको तथा विकट स्थानका ऐलानी जग्गा, खोलाको बगर, भिरपाखाजस्ता जग्गामा वैधानिक रूपमा यसको खेती गरेर उत्पादन बढाउने अपार सम्भावना छ । यो ४ देखि ५ महिनामा उत्पादन दिन योग्य हुने हुनाले र विश्वमा यसको माग बढिरहेको सन्दर्भमा नेपालमा यसलाई लामो समयसम्म प्रतिबन्ध लगाइरहने हो भने अन्य देशहरूले नेपालसँग रहेको परम्परागत ज्ञानको ‘पेटेन्ट राइट्स’ समेत खोस्नेछन् र गाँजाको प्रयोगबाट गरिने नेपाली उपचार पद्धति हामीले सधैंका लागि गुमाउने छौं ।
औद्योगिक फाइबर, तेल, खाना, बिज, मनोरञ्जन, धार्मिक, आध्यात्मिक र चिकित्सा क्षेत्रमा विभिन्न रूपमा प्रयोग हुने गाँजा खेतीले कानुनी मान्यता पाएमा ९० प्रतिशत किसानको जीवनस्तर माथि उकास्न सहयोग पुग्ने र विश्वमा खर्बौंको कारोबार हुने गाँजाको सानो अंशमात्र नेपालले लिन सके नेपाली अर्थतन्त्रमा ठूलो योगदान रहने दाबी गरिएको छ । विश्व बजारमा कालो सुन भनेर चिनिने यो वनस्पतिको उच्च कोटीको तेल अत्यन्तै महँगो मूल्यमा बिक्री हुन्छ । नेपालको गाँजा विश्व बजारमा उत्कृष्ट मानिने हुनाले यसकोे प्रयोग गर्न विश्वका मानिसहरू लालायित हुन्छन् । नेपालमा अहिले पनि गाँजाको व्यापार र प्रयोग भए तापनि अर्थतन्त्रमा यसको योगदान देखिएन, राजस्व उठेन तर यसलाई वैधानिक गर्ने हो भने अर्थतन्त्र औपचारिक हुन्छ । यसको अनुसन्धानका लागि विश्वमा खर्बौं डलर खर्च भइरहेको छ । हामीले पनि आजैबाट यसको अध्ययन अनुसन्धानमा लागी एउटा नतिजामा पुग्नुपर्ने देखिन्छ ।
नेपालका सन्दर्भमा जहाँ मान्छे त्यहाँ गाँजा हुने भएकाले पनि यहाँको गाँजामा विविधता छ भन्ने कुरा प्रमाणित हुन्छ । कुन ठाउँमा कुन गुणस्तरको गाँजा हुन्छ, कुनमा लठ्याउने गुण बढी हुन्छ, कुनमा कम हुन्छ, कुनमा रेशा बढी छ ? खोजौँ । खाडीमा गएका नेपाली युवाहरूको परिवार विखण्डन भएका उदाहरणहरू हामी सामु छ । तसर्थ त्यहाँ गएर ५० डिग्रीको घाममा काम गर्नुभन्दा गाँजा खेती गरेर देशमा नै बस्नु उपयुक्त हुन्छ । यो खेती पूर्ण श्रममा आधारित भएको हुनाले धेरै ग्रामीण भेगका सीमान्तकृत नेपालीले रोजगार प्राप्त गर्नेछन् । अमेरिका, बेलायतजस्ता पश्चिमा मुलुकले के भन्छन् भन्दा पनि हामीलाई के कुराको आवश्यकता छ भन्नुपर्ने बेला हो यो । हामीले यसको धेरैभन्दा धेरै उत्पादन गरी विश्व बजारमा पु¥याएर विश्वव्यापीकरणको फाइदा लिन सक्छौं ।
गाँजा पूर्वी एसियामा उत्पत्ति भएको विश्वास गरिने र आयुर्वेदमा विजय भनेर चिनिने फूल फुल्ने विरुवा हो । हाम्रो शरीरमा भएका धेरै तत्व यसमा पाइने र ४०० भन्दा बढी रोगको औषधि बनाउन यो प्रयोगमा आउने बताइएको छ ।
सामान्यतया गाँजाको खेती भएको ठाउँमा अन्य बालीमा पनि किरा लाग्दैन । यसको रेशाबाट महँगो कपडा बन्छ र त्यसको प्रयोगले छालाको रोग लाग्दैन । यसको सही प्रयोगले मानिस शान्त भएर बस्ने तथा अल्जाइमर्स, क्यान्सर, पेटका समस्या, अनिद्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन, झाडापखाला, दुखाइ, मानसिक रोगजस्ता समस्यामा उपयोगी रहेको तथ्यांकले देखाउँछ । गाउँघरमा किसानले गाईगोठसँग गाँजाखेती गर्ने र वस्तुभाउले छेरेमा, पेट फुलेमा वा अन्य पेटका समस्या भएमा, खाना नरुचाएमा गाँजालाई औषधिको रूपमा प्रयोग गर्ने गरेको पाइन्छ । ओमेगा तत्व पाइने गाँजा शरीरका लागि अति नै उपयोगीसिद्ध भएको छ । हामीले गाँजा भन्ने वित्तिकै धुवाँ लिने वा गँजेडी बन्ने बुझाइ रह्यो तर त्यसो मात्र पनि होइन ।
सयौँ वर्ष अगाडिबाट हाम्रा ऋषिमुनिहरूले प्रयोग गर्दै आएको गाँजाको माथि उल्लेख्य धेरै फाइदा हुँदाहुँदै पनि यसलाई आर्थिक जोखिम रहेको सामाजिक विकृति जन्माउन सहायक बन्न दिनु हुँदैन । यसरी जथाभावी रूपमा गाँजा खेती तथा यसको सेवनलाई नियन्त्रण गरिएन वा झोलामा हालेर बिक्री वितरण गर्ने अवस्थाको सिर्जना भयो भने युवाहरू लागूऔषधको कुलतमा फस्ने खतरा बढेर जान्छ । सुरुमा गाँजा सेवन गर्ने युवाहरू पछि त्यो नपाउँदा अफिम, ब्राउन सुगर आदि प्रतिबन्धित औषधितर्फ आकर्षित हुने तथ्यांकहरू प्रशस्तै देखिन्छन् । त्यही भएर यसको विपक्षमा तर्क गर्नेहरूले २०३३ सालभन्दा अगाडि गाँजा प्रतिबन्धित नहुँदा पनि हामी संसारको धनी देश थिएनौं र गाँजा सहज हुने कानुन बनाउँदा लागूऔषध दुव्र्यसनी बढ्ने र आतंकवाद, संगठित अपराध जस्ता अपराधले प्रश्रय पाउने बताइरहँदा यो विषयमा पनि सोच्नु चाहिँ पर्छ । तसर्थ, यसको खेती र कारोवार व्यक्तिले भन्दा लाइसेन्स प्राप्त सहकारीमार्फत निश्चित तोकिएको स्थानमा गर्नुपर्छ । २१ वर्ष भन्दामाथिको उमेरकाले डाक्टरको प्रिस्क्रिप्सन लिएर मात्र उपभोग गर्न पाउने, कानुन उल्लंघन गरेमा कैद र नगद जरिवानाजस्ता प्रावधान राख्नुपर्छ । गाँजा उत्पादन गर्ने नाउमा गजेडी उत्पादन हुन दिनु हुँदैन । नियमन र नियन्त्रण गर्ने चुस्त कानुनी व्यवस्था र कानुन कार्यान्वयन गर्ने प्रभावकारी राज्य संयन्त्र बनाइएन भने नेपाल अन्तर्राष्ट्रिय ड्रग्स माफियाको केन्द्र बन्न सक्छ । थोरै दुःखमा धेरै आम्दानी हुने क्षेत्रमा माफियाहरूको चलखेल बढी हुने गर्छ ।
हामीले मनन् गर्नुपर्ने कुरा के पनि छ भने गाँजा खेतीबाट माथि उल्लेख गरेजस्तै अर्थतन्त्रमा ठूलै योगदान पुग्ने हो भने सियो, गुन्द्रुक, तुथपिकजस्ता वस्तु बनाएर निर्यात गर्ने चीन र हरित कृषिको नारा दिने भारतले किन यो खेती गरेनन् भनेर पनि एकपटक अध्ययन र अनुसन्धान गर्नुपर्छ । उनीहरूले यो खेतीलाई खुला नगरेर हामीले मात्र खुला गर्दा र कानुन फितलो हुँदा आतंकवाद, संगठित अपराध, कालोधनजस्ता अपराधको एक्लै सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।
गाँजा खेतीबाट प्रशस्त लाभ लिइरहेका अमेरिकादेखि अन्य धेरै देशहरूमा माफियाहरूकै सिन्डिकेट छ । यहाँ पनि निश्चित समूहले लाइसेन्स पाएर ड्रग्स सिन्डिकेट खडा हुने जोखिम हुँदैन भन्न सकिँदैन । हाल नेपालका डाँडापाखा, वनजंगल, खोलाको बगर र खेतबारीमा आफैं उम्रिने गाँजाले कानुन व्यवस्थालाई चुनौतीपूर्ण बनाएका बेला यसको खेती नै हुन थालेपछि कानुनले बाँध्न सकेनाँै भने चुनौती अकल्पनीय हुनसक्छ । गाँजा केका लागि खुला गर्ने भन्ने प्रश्नको उत्तर प्रष्ट हुनुपर्छ । यसको गलत प्रयोगबाट हाम्रा युवाहरूलाई जोगाउन जनचेतनामूलक शिक्षा एउटा समाधान हुनसक्छ । यी अवस्थाहरू पूरा गरेर उत्पादन, बिक्री वितरणमा सीमान्तकृत जनताको पहँुच हुनेगरी लाइसेन्सको माध्यमबाट मात्र कारोबार गर्ने गरी गाँजाखेती थाल्ने हो भने नेपालको आर्थिक समृद्धिको एउटा पाटो अगाडि बढ्नेछ । तर हचुवाका भरमा हामी अगाडि बढ्यौं भने फेरि यसलाई प्रतिबन्ध लगाउन अर्को १० वर्ष संघर्ष गर्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ यी तथ्यहरूलाई हेर्दा गाँजा खेती र ओसारपसार स्वास्थ्य र आर्थिक दृष्टिकोणबाट बरदान हो भने कानुन बलियो भएन र यसको उत्पादन, ओसारपसारमा ध्यान पु¥याउन सकिएन भने सामाजिक र कानुनी दृष्टिकोणबाट अभिशाप हुनेछ ।
(लेखक त्रिविमा प्राध्यापनरत अर्थशास्त्री हुन्)
प्रतिक्रिया