देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादीमा प्रचण्डसहितका सत्तारूढ नेताको चर्को आलोचना 

देशान्तर

काठमाडौं । सशस्त्र विद्रोहदेखि नै माओवादी नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म नेतृत्व गरिरहेका छन् । सधैं पार्टीको शीर्ष तहमा रहेका प्रचण्ड अहिलेको जस्तो आलोचना विगतमा सहनु परेको थिएन । २०७८ सालमा महाधिवेशन गरेपछि पदाधिकारी पनि मनोनयन गर्न नसकेका उनले बल्लतल्ल पदाधिकारी चयन गरे पनि सबैको चित्त बुझाउन सकेका छैनन् । माओवादीले सशस्त्र विद्रोह गर्दा सँगै रहेका बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतका नेताहरूले छाडेपछि खिइएको माओवादी अहिले संसद्मा तेस्रो दलको हैसियतमा हुँदा पनि सत्ताका लागि बार्गेनिङ गर्न माहिर प्रचण्ड प्रधानमन्त्री भएका छन् । 

तर, अहिले सरकारले काण्डहरूमा पाएको सफलताले केही हदसम्म उनको लाज छोपिए पनि डेढ वर्षपछि बसेको केन्द्रीय समितिको बैठकमा आलोचना भने सुन्न परेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा कुनै लिखित दस्तावेज बिनै उपस्थित भएर मनका कुराहरू बोलेर केन्द्रीय प्रतिनिधिहरूलाई फकाएका प्रचण्डले अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा भने आलोचना सुन्नु परेको हो । केन्द्रीय सदस्यहरूले पार्टी अहिले धनीमानीको भएको सुकिलामुकिलाहरू नै हाबी भएको भन्दै विभिन्न कोणबाट आलोचना गर्ने गरेका छन् ।  

नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेपछि हौसिएको माओवादीको पदाधिकारी बैठकले आफूहरूको बैठक पनि लाइभ हुने निर्णय गरेको थियो । तर, प्रचण्ड आफैंले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भन्दा बढी आलोचना हुने संकेत पाएपछि हतारहतार लाइभ नहुने निर्णय गराएर अहिले दिनहुँ प्रज्ञा भवनमा हुने बैठकमा कुरा सुनेर बसिरहेका छन् ।

बैठकमा धारणा राख्ने अधिकांश युवा नेताहरूले अध्यक्षको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वले नै गुटलाई प्रश्रय दिएको आरोप लगाएका छन् । यसैगरी पटकपटक सरकारमा अवसर पाइरहने नेताहरूको बारेमा पनि चर्को आलोचना भएको छ । कतिपयले त माओवादी शान्ति प्रक्रियामा आएपछि पटकपटक अवसर पाएकाहरूको सम्पत्ति छानबिन गर्नका लागि पनि माग गरेका छन् । 

लेखनाथ न्यौपानेले पार्टी अहिले उक्लनै नसक्ने गरी ओरालो यात्रामा लागेको भन्दै सरकारले गरिरहेको सकारात्मक काममा पार्टीकै विवेकले काम गरेको हो वा कुनै शक्तिकेन्द्रबाट निर्देशित हो भन्दै प्रश्न उठाएका छन् । 

न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट पार्टी ठूलो बनाउने सपना नदेख्न नेतृत्वलाई आग्रह गर्दै भने– ‘अहिले माओवादी पार्टी पार्टीजस्तो देखिएको छैन । विचार र व्यवहार पूरै खराब भइसकेको छ । संसदीय प्रणालीमै जाने भए कांग्रेस, एमालेभन्दा माओवादी फरक हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनमा जसरी विचलन आएको छ, यदि माओवादी पनि त्यसरी नै जाने हो भने त्यो खतरा रहन्छ । त्यसैले, हामीले संसदीय व्यवस्थालाई उपयोग गरेर अर्को क्रान्तिको तयारी गर्नुपर्छ ।’

केन्द्रीय सदस्य दिलीप प्रजापतिले पार्टीमा अराजकता हाबी हुँदै गएको भन्दै विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै पनि भएको आरोप लगाए ।

हितबहादुर तामाङले पार्टी नेतृत्वको चाकडीका भरमा एकै व्यक्ति पटकपटक मन्त्री भइराख्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै नेतृत्व सच्चिन आवश्यक रहेको धारणा राखेका छन् ।  

बैठकमा समाजवादी मोर्चाको समेत आलोचना भएको छ । केन्द्रीय सदस्य हरिराज अधिकारीले समाजवादी मोर्चा निर्माणका सन्दर्भमा नेतृत्वलाई प्रश्न गर्दै ‘समाजवादी मोर्चा केका लागि बनेको भन्दै प्रश्न गरेका थिए ।  बैठकमा अध्यक्षको आलोचना हुँदा  कतिपय नेताहरूले भने नेतृत्वलाई खुइल्याएर पार्टी नबन्ने भन्दै नेतृत्वको बचाउ गरेका छन् ।

माओवादीमा पनि गुटगत राजनीति पछिल्लो समय हाबी हुँदै गएको छ । अध्यक्ष प्रचण्डले  कहिले कसैलाई त कहिले कसैलाई काखी च्याप्दै हिँडेकोमा अहिले दोस्रो तहका नेताहरू पनि एकजुट हुन थालेका छन् । त्यही बुझेर नै प्रचण्ड अहिले बाबुराम र विप्लवलाई भित्र्याउन खोजिरहेका छन् । यस्तो अवस्थामा माओवादीका दोस्रो तहका नेताहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतका बीचमा अहिले नयाँ सहमति भएर पार्टीमा प्रचण्डको विकल्प खोज्नेसम्मको कुराहरू उठ्न थालेका छन् । तर, अहिलेसम्म अधिवेशन नगरे पनि सधैं अध्यक्ष भइरहका प्रचण्ड फेरि पनि विशेष अधिवेशन र महाधिवशेन गराउने पक्षमा भने छैनन् । 

बैठकमा अध्यक्ष प्रचण्डले माओवादी रूपान्तरणका लागि भदौदेखि तीनमहिने सुदृढीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पेस गरेका छन् भने मंसिरमा विधान सम्मेलन गरी केन्द्रीय समितिको आकार घटाउने, केन्द्रीय समितिको बैठकले सबै नेताहरूको जिम्मेवारी तोक्ने र यस वर्षको अन्त्यमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । माओवादीको केन्द्रीय कमिटी बैठक अझै केही दिन लम्बिने भएको छ ।