काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा अब सीआईबीले संगठित अपराधमा अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुसन्धानको नेतृत्व सीआईबीले गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री दाहालले राजस्व चुहावटको विषयमा विभागले मुद्दा अघि बढाउने र संगठित अपराधको पाटोमा सीआईबीले थप अनुसन्धान गर्न निर्देशन दिएका हुन् । प्रचण्डले बिहीबार साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आईजीपी वसन्तबहादुर कुँवर र सीआईबी प्रमुख किरण बज्राचार्यलाई बोलाएर भेटेका थिए । अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । अब सीआईबीले संगठित अपराधमा अनुसन्धान गर्ने छ । यो प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन् । यसैबीच सुन तस्करी प्रकरणमा पक्राउ परेकी भन्सार एजेण्ट रुक्मिना सुब्बालाई मानवीय कारण जमानीमा रिहा गरिएको छ । उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको हो ।
प्रतिक्रिया