‘काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि नि:शुल्क बस सेवा सुरु गरेका छन । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज लामिछानेले एउटा बसबाट सुरुआत गरेको र भविष्यमा माग र उपयोग अनुसार स्थानीय सरकारसँग समन्वय गरी बस सङ्ख्या थप्ने बताए । उनका अनुसार पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड उपलब्ध हुनेछ ।
बसभित्र कुनै गुनासो वा सुझाव भएमा राख्नका लागि सानो बक्स राखिएको छ, जसमा रवि दाइलाई चिठ्ठी’ लेखिएको छ । सानो आकारको बसमा महिलाहरुले आफूले झर्ने ठाउँमा थिच्नका लागि स्विच राखिएको छ ।
वैदेशिक रोजगारका क्रममा विदेशिएका नेपालीका लागि स्वदेश फर्काउन एक सय दिनको रोजगारीको विज्ञापन खोलेको उनले जानकारी गराए । यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियानका क्रममा आफ्नो सचिवालयका लागि प्रमुख कार्यकारी अधिकृतमा एक जनाको नियुति गरेको बताउनुभयो । उनले आईटी विज्ञ हेमन्त बराललाई प्रमुख कार्यकारी अधिकृतको परिचयपत्र लगाइदिएका थिए ।
यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क क्लिनिक सेवा पनि दिने गरी एम्बुलेन्स सञ्चालनमा ल्याएका छन । निलो रंगको एम्बुलेन्समा निःशुल्क क्लिनिक लेखिएको छ । हरेक दिन नयाँ टोलमा गएर ६५ माथिका वृद्धबृद्धालाई उपचार सेवा दिने बताइएको छ ।
लामिछानेले विपन्नहरुका लागि पाँच लाख बराबरको उपचार बिमाको घोषणा पनि गरेका छन । यस्तै उनले दुईवटा बिद्यालयलाई प्रविधिसहितको नमूना बिद्यालयलाई बनाउने घोषणा गरेका छन भने १०० जनालाई रोजगारीको घोषणा गर्दै आवेदन मागेका छन । त्यसअघि, उनले चितवन–२ मा सचिवालय उद्घाटन गरेका थिए ।चितवन जिल्लामा हरेक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने जनाउँदै आगामी भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने घोषणा गरेका छन् ।
प्रतिक्रिया