काठमाडौँ, ४ साउन । सरकारले हालै विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान भएको छ ।
सङ्घीय संसद्को अन्तरगतको संसदीय सुनुवाइ समितिले आज उनीहरू विरुद्ध उजुरी आह्वान गरेको हो ।
समितिले आज जारी गरेको सूचना अनुसार सरकारले हालै सिफारिस गरेका व्यक्तिहरू राजदूत नियुक्त गर्न उपयुक्त छन् कि छैनन् ? भन्ने लागेमा आधार र सबुदसहित उजुरी दिन भनिएको छ ।
आज प्रकाशित सूचना अनुसार उजुरीकर्ताले अबको १० दिनभित्र लिखित रूपमा उजुरी दिइसक्नु पर्ने छ । उजुरी दिने व्यक्तिले नाम, थर, वतन र सम्पर्क नम्बर उल्लेख गर्नुपर्नेछ । तर, उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिने जारी सूचनामा जनाइएको छ ।
सरकारले संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्यु योर्क लागि लोकबहादुर थापा, स्विट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी, फ्रान्सका लागि सुधीर भट्टराई, कुवेतका लागि घनश्याम लम्साल, युएईका लागि तेजबहादुर क्षेत्री र थाइल्यान्डका लागि धनबहादुर वलीलाई राजदूतका लागि हालै सिफारिस गरेको थियो ।
सरकारले सिफारिस गरेका व्यक्तिहरूमा परेको उजुरी छानबिन र सोधपुछ पछि समितिबाट अनुमोदन भएमा मात्रै उनीहरूको नियुक्ति हुनेछ ।
प्रतिक्रिया