काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताहरुले चलाएको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदेको प्रतिवेदन बुझाएको छ । केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । पार्टी सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्न नमानेपछि मुख्यसचिवलाई बुझाइएको हो ।
पत्रमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन नगरिए पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने निश्चित रहेको उल्लेख छ । यस्तै पार्टीको लोकप्रिय जनाधार खस्किँदै जाने निश्चित रहेको उल्लेख छ ।
यस सन्दर्भमा पार्टी रूपान्तरणका प्रमुख मुद्दा र समाधानका विकल्पबारे कांग्रेस रूपान्तरण अभियानले सातवटै प्रदेश र डायस्पोरासँग प्रथम चरणको छलफल सम्पन्न गरी काठमाडौँ उपत्यकामा उपलब्ध प्राध्यापक, महिला तथा तरुण नेताहरूसँग समेत अन्तरक्रिया गर्दा प्राप्त सुझावहरूलाई पहिलो मस्यौदाका रूपमा सूचीबद्ध गरेका गरिएको युवा नेता भुपेन्द्रजंग शाहिले जानकारी दिएका छन् ।
गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेको थियो ।
अभियानले पार्टीको मतमा आएको गिरावट, भ्रष्टाचार प्रकरणहरूमा पार्टीकै नेताहरूको संलग्नता, पार्टीका अवयव तथा भ्रातृ संस्थाहरूमा देखिएको आन्तरिक अव्यवस्था, नीतिविहीनता र बिधिविहीनता जस्ता कारणले पार्टीभित्र व्यापक असन्तुष्टि रहेकाले यसबारे बैलेमा समाधान खोज्न पनि ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया