काठमाडौं । भारतमै बसेर सशस्त्र गतिविधि सञ्चालन गरी भारतमै १२ बु“दे समझदारी गरी शान्ति प्रक्रियामा आएका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पक्षमा निर्णय गराउन देशभित्रका मात्रै होइन, भारतीय शक्तिलाई पनि कसरी प्रभावमा पार्छन् र त्यसका लागि कस्ताकस्ता व्यक्तिको साथ लिन्छन् भन्ने तथ्य भावनामा बगी उनी आफैंले उजागर गरेपछि विवादमा मात्रै तानिएका छैनन्, नेपालको राजनीतिक व्यवस्थापन र उथलपुथलमा भारतले कतिसम्म खेल्छ भन्ने तथ्यको पनि पुष्टि भएको छ । कुनै बेला भारतीय शक्तिलाई विदेशी प्रभु र मालिकको संज्ञा दिँदै अन्य दलहरूलाई भारतीय दलाल भएको कथित घोषणा गर्ने प्रचण्डले त्यही भारतीय पक्षलाई प्रभावमा पार्न कुन हदसम्मको ‘चाप्लुसी’ गर्ने गरेका रहेछन् भन्ने कुरा उनकै अभिव्यक्तिले नै प्रमाणित गरेको छ ।
जनयुद्धका नाममा भारतकै संरक्षणमा तत्कालीन राजासँग मिलेर संसद्वादी दलहरूविरुद्ध आक्रमण गरेका दाहालले जब राजासँगको सम्बन्धबाट स्वार्थ पूरा नहुने बुझे तब भारतकै इशारामा संसद्वादी दलहरूसँग निकटता बढाएको तथ्य घामजस्तै छर्लंग छ भने शान्तिपूर्ण राजनीतिको नाममा संसदीय राजनीतिमा प्रवेश गरेपछि पनि कहिले भारतसँग मिलेर चीनलाई बिच्काउने त कहिले चीनसँग मिलेर भारतलाई देखाइदिने उनको विवादित चरित्रले मुलुकको राजनीति नै प्रभावित हुने गरेको छ । पछिल्लो पटक भारतीय व्यवसायी प्रितम सिंहसँगको सम्बन्ध र उनीमार्फत भारतीय संस्थापन पक्षसँग बढाएको निकटता तथा त्यसबाट लिएको फाइदाका बारेमा उनले जे बोले त्यो भावनात्मक नभई उनले स्वीकारेको वास्तविकता हो भन्नेमा दुई मत नरहेको राजनीतिका जानकारहरू बताउँछन् ।
सशस्त्र युद्ध, शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन र सत्ता राजनीतिमा दाहालले पटकपटक देखाएका चरित्रले उनी भारतसँग व्यक्तिगत रूपमा सम्बन्ध स्थापित गरी आफू नेपालको राजनीतिमा शक्तिमा रहिरहन चाहन्छन् भन्ने स्पष्ट भएको विश्लेषकहरूको टिप्पणी छ । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटकपटक दिल्ली गएको, नेपालका राजनीतिक दलहरूसँग पनि सिंहले छलफल गरेको तथा सिंहकै पहलमा भारतीय पक्षसँग आफूले छलफल गरेको दाहालले स्वीकार गरेका छन्, जसका कारण मुलुकको राजनीति यतिखेर तरंगित छ ।
दाहालको पछिल्लो अभिव्यक्तिले चुनावअघिको नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन छाडेर उनी प्रधानमन्त्री बन्नकै लागि कसरी बालुवाटारबाट बालकोट हानिएका रहेछन् भन्ने विषयमा स्पष्ट भएको छ । एकाएक गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु र त्यसका लागि एमाले, राप्रपा र रास्वपालगायत दलहरू तयार हुनुमा जुन आशंका थियो, दाहालले नै त्यो आशंका मेटाइदिएका छन् । भारतलाई चर्को गाली गरेर राष्टवादी नेता बन्ने प्रयास गरेका केपी शर्मा ओलीको चरित्र पनि उदांगो भएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि ओली, राजेन्द्र लिङदेन र रवि लामिछानेहरूले दाहाललाई प्रधानमन्त्री बनाउन सहीछाप गरेका थिए । क्षणभरमा उनीहरू किन दाहाललाई प्रधानमन्त्री बनाउन तयार भए ? उनीहरूबीचको तिक्तता कसरी मेटियो ? राष्ट्रवादी नारा दिएर उदाएका राप्रपा र रास्वपाले कसरी दाहाललाई स्वीकार गरे ? यावत् प्रश्नको जवाफ दाहालको एउटै अभिव्यक्तिले दिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर ओलीको एमालेले अहिले संसद् अवरुद्ध गरिरहेको छ भने उनलाई केही महिनाअघि प्रधानमन्त्री बनाउने राप्रपा र रास्वपाले दाहालसँग जवाफ माग गरिरहेका छन् । पहिले किस्तीमा राखेर प्रधानमन्त्री पद दिएका उनीहरूले अहिले आफूहरू सत्ताबाट बाहिरिनु परेको पीडा बिर्साउन र रिस फेर्न मात्रै दाहालको विरोध गरिरहेको पनि उनीहरूकै पार्टीका नेताहरूले बताउन थालेका छन् । दाहालको चरित्र पहिल्यै थाहा थियो, पहिले थाहा पाईपाई साथ दिने अनि अहिले विरोध गर्नुको कुनै औचित्य छैन, एमालेका एक नेताले देशान्तरलाई बताए ।
राजनीतिक र कूटनीतिक वृत्तमा समेत आलोचना भएपछि दाहालले पटकपटक स्पष्टीकरण दिने प्रयास गरिरहेका छन् र उनले आफ्नो अभिव्यक्तिलाई प्रितम सिंहसँगको पारिवारिक निकटता र भावनात्मक सम्बन्धसँग जोडेर व्याख्या गर्ने जमर्को गरिरहेका छन् । तर, उनी जसरी र जुन बहाना बनाएर उम्किने दाउ रचिरहेका छन्, ती कुनै पनि दाबीले उनको अभिव्यक्तिलाई बचाउ गर्न नसक्ने जानकारहरू बताउँछन् ।
भारतको जतिसुकै आलोचना गरे पनि केपी ओली र भारतीय संस्थापन पक्षबीचको सम्बन्ध सधैं आलोचित छ । नेकपा विभाजनको संघारमा पुगेका बेला मध्यरातमा ओलीले गरेको सामन्त गोयलसँगको संवाद त्यसको सबैभन्दा बलियो प्रमाण हो । आफ्नो सत्ता जोगाउन भारतीय खुफिया एजेन्सीका प्रमुखसँग मध्यरातमा वार्ता गरी गोप्य सहमति गर्ने ओलीले गरेको आलोचना देखावटीमात्रै हो भन्नेमा कुनै शंका छैन ।
दाहालले एमालेसँगको गठबन्धन तोडेपछि एमाले र उसका सहयोगी दलहरूले निरन्तर सरकारको आलोचना गर्दै आइरहेका छन् । जसरी होस् दाहाललाई संकटमा पार्ने र प्रधानमन्त्रीबाट हटाउने उनीहरूको घोषित रणनीति छ । दाहालको पछिल्लो अभिव्यक्तिलाई उनीहरूले त्यसैका लागि अस्त्र बनाएका छन् ।
पछिल्लो समय सरकारले केही गम्भीर र ठूला आपराधिक तथा भ्रष्टाचारका घटनाको फाइल खोलेको छ । नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा अनुसन्धान सुरु भएपछि नै दाहालसँग ओली निकै रुष्ट बनेका हुन् । शरणार्थी प्रकरणमा आफ्ना सहयोगीहरू नै मुछिएपछि ओलीले विभिन्न बाहना खोजी गरिरहेका छन् भने ललिता निवास प्रकरणमा पनि आफ्ना थुप्रै सहयोगी मुछिने उनको विश्लेषणले पनि ओलीलाई चिन्तित र आक्रोशित बनाएको छ । लहरो तान्दै जाँदा आफैंसँग आइपुग्ने विश्लेषणले पनि सरकारप्रति ओली र एमाले आक्रोशित भएका हुन् ।
प्रतिक्रिया