देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशीमा नयाँ सरकार गठनको प्रयास, मुख्यमन्त्रीमा राप्रपाको पनि दाबी

देशान्तर

कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास शुरु भएको छ । एमालेवाट मुख्यमन्त्री  भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेपछि नयाँ सरकार गठन गर्ने गरी प्रयास सुरु भएको हो । प्रदेश प्रमुख खापुुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्न आउँदो २१ गते बिहीवारसम्मको समय दिनुभएको छ ।

गएको शुक्रवार एमालेवाट मुख्यमन्त्री भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो ।यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा २ को प्रयोग भइसकेको भन्दै उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो ।

 प्रदेश प्रमुखबाट उपधारा २ अनुसार सरकार गठनको आह्वान भएसँगै एमाले, कांग्रेस, माओवादीलगायतका दलहरू आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधुपमा लागेका छन् । अहिले विपक्षीमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन बनाएर सरकार गठन गर्ने दाबी गरेका छन् । तर बहुमत नपुग्ने भएपछि राप्रपालाई फकाउने प्रयासमा सत्तापक्ष देखिएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ प्रदेश सभा सदस्य चाहिन्छ । अहिले कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् । त्यस्तै प्रदेश सभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ जना सांसद छन् । गठबन्धन दलले राप्रपालाई सहभागी गराएर नयाँ सरकार गठनको गृहकार्य थालेको छ । तर मुख्यमन्त्रीमा कांग्रेस र माओवादीसँगै राप्रपाले पनि दाबी गरेपछि सहमति हुन सकेको छैन् ।