काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकार र दम्भका कारण उनी र उनको पार्टीमा भइरहेको क्षयीकरण मुग्लिङ नारायणगढ सडक खण्डमा गएको पहिरो जस्तो तीव्र गतिमा अघि बढिरहेको छ । पछिल्लो घटना कोसी प्रदेश सरकारको हो । कोसी प्रदेशका मुख्यमन्त्री एमालेका हिक्मत कार्कीले सदन समक्ष मागेको विश्वासको मत फेल भएसँगै नेकपा एमाले अब सातै प्रदेश र संघमा नील हँुदै प्रतिपक्षी कित्तामा धकेलिएको छ । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा एमालेका ४० र राप्रपाका ६ जना सांसदले मतदान गरे । प्रदेशसभामा बहुमत पु¥याउनका लागि ४७ सांसद आवश्यक पर्दथ्यो । बहुमत सिद्ध नहँुदा १७४ दिनमा एमालेको नेतृत्वको सरकार ढल्यो । अब सत्तमा पुग्नलाई सहमतीय सरकार बनेमा मात्र सम्भव छ नत्र एमालेको सत्तायात्रा सकिएको छ ।
गत पुस १० को बार्दली गठजोड फागुन १२ मा भत्किएसँगै रक्षात्मक बनेको एमाले अन्य ६ प्रदेशमा सत्तापक्षबाट प्रतिपक्षमा किनारामा लागिसकेको थियो । बाँकी रहेको कोसी प्रदेशको सत्ता जोगाउन एमालेले मधेस प्रदेशको जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिएर कोसीका लागि ढोक्सो थापेर बसेको थियो ।
मधेस प्रदेशको सरकारलाई विश्वासको मत दिनुको व्याख्या गर्दै ओलीका रक्षाकवच शंकर पोख्रेलले ‘जसपा नेतृत्वको मधेस प्रदेश सरकारले प्रतिपक्ष दल नेकपा (एमाले)समेतको विश्वासको मत प्राप्त गरेको छ । राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा (एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती वन्न पुगेको छ ।’ भनेर सत्ता टिकाउन जसपाले सहयोग गर्ने अपेक्षासहितको याचना पोस्ट गरेका थिए । कोसीमा राप्रपालाई पुच्छरमा बाँधेर सँगै लतारेको एमालेलाई लागेको थियो एक मत कसो चोर्न वा किन्न नसकिएला । कोही न कोही टंक आङबुहाङ बन्न तयार हुन्छन् भन्ने अन्तिम घडीसम्मको उस्को प्रयत्न थियो । एक सिट रहेको जसपाले तटस्थ बस्ने निर्णय गर्दा थोरै निरास भएको एमालेले जसपाको सांसद निर्मला लिम्बूलाई प्रलोभन पार्न वा किन्नसमेत सकिन्छ कि भनेर भरमग्दुर कोसिसमा लागिरहेको स्रोतले बतायो । मुख्यमन्त्री कार्कीले सांसद नै नरहेका जसपाका नेता जयराम यादवलाई मन्त्री बनाउने आश्वासन दिएको बताइएको छ । त्यसपछि एमाले कोसीले केन्द्रमा ओली गुहा¥यो । ओलीले देउवालाई पनि अफर गर्न भ्याए मिलेर जाने भनेर । मत विभाजन गर्ने समयमा मुख्यमन्त्री तयारीका लागि भन्दै सदनबाट निस्किए लामो समय हराए । आफैंले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक छाडेर मुख्यमन्त्री कार्की हिँडेपछि असार १४ गते बसेको प्रदेशसभाको बैठक विश्वासको मतमाथि मत विभाजन नभई स्थगित भएको थियो । उनी नआए पछि अर्कोदिनको लागि सदनको बैठक सारियो । रात रहे अग्राख पलाउँछ भनेर रातभर नसुती कोसीको सत्ता जोगाउन कोसीका एमाले र बालकोटको वार्ता अनवरत चलेको बताइएको छ । अन्ततः केही सीप नलागेपछि असार १५ मा चितवनको हिलाम्मे खेतमा सकिनसकी धान रोप्दै गरेका ओलीको अहंकार फेरि एक पटक विराटनगरको रोडशेष चोकमा ढल्यो । एमालेको सरकार ढले पनि कठिन अंकगणितका कारण कांग्रेस माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको गठबन्धनलाई नयाँ सरकार गठनका लागि त्यति सजिलो भने छैन । कोसीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारमा दाबी गरिरहेका छन् । सभामुख निर्णयक भएका कारण गठबन्धन दललाई बहुमत जुट्ने ती दलहरूको आस छ ।
प्रतिनिधिसभामा दोस्रो शक्ति रहेको एमाले पहिले सत्तापक्ष हँुदै त्यसपछि सबैतिर प्रतिपक्षी बन्ने परिस्थिति राष्ट्रपतिको निर्वाचनसँगै सुरु भएको थियो । संघीय सत्ताबाट बाहिरिन थालेको एमालेको नील यात्रा बिहीबार कोसीमा पुगेर टुंगिएको छ । अब एमालेसँग प्रचण्डले हाम्फालेर बनाएको बार्दली गठबन्धनको १० पुसको उपजअनुसार, आफ्नो भागमा परेको संघ र प्रदेश व्यवस्थापिकाको नेतृत्वमा मात्रै छ । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे छन् । कोसीमा उपसभामुख सिर्जना दुनुवार, मधेसमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाईं, गण्डकीको उपसभामुखमा बिनाकुमारी थापा, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी छन् भने राष्ट्रियसभामा गणेशप्रसाद तिमिल्सिना अध्यक्ष छन् । गोलाप्रथाबाट ६ वर्षको पदावधि पाएका तिमिल्सिनाको अर्को वर्ष पदावधि सकिनेछ
।
प्रतिक्रिया