काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले)का हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ । नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र) र नेकपा समाजबादीले विश्वासको मत नदिने तथा जनता समाजवादी पार्टीले तटस्थ बस्ने निर्णय गरेसँगै कार्की नेतृत्वको सरकार ढल्ने भएको हो ।
नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलको छुट्टाछुट्टै औपचारिक बैठकले कार्कीलाई मत दिने निर्णय गरेका थिए ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आवश्यकता परेमा मध्यावधि निर्वाचनमा जान सकिने तर मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने प्रतिकृया दिएका छन् । थापाले कोशी प्रदेशसभाको विपक्षी गठबन्धनको ठूलो दल भएकाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्ने पनि बताए । यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले पनि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । प्रदेशका एकीकृत समाजवादीका सांसद कमल जबेगुका अनुसार नेकपा एसले कार्कीको विपक्षमा मत हाल्ने निर्णय गरेको हो । मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको माओवादीकेन्द्रले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्न निर्णय गरेको छ ।
उता जनता समाजवादी पार्टी (जसपा)ले भने कोसी प्रदेशमा विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको छ । प्रदेश कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय गरेको हो ।
आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ । कोसी प्रदेश सभाको तेस्रो अधिवेशन सुरु भएको छ । अर्थमन्त्रीसमेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री हिक्मत कार्कीले सभामा अर्थसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र रकम विनियोजन तथा खर्च गर्न सक्ने विधेयक पेस गरेका छन् ।
प्रतिक्रिया