काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ ।
सुरक्षा निकायका अधिकारीको तथ्यांकअनुसार शनिबार यता ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता छन् । बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बाढी र पहिरोका कारण पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ । मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा हिजो प्रदेश सरकारको तर्फबाट मन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वको टोली प्रभावित क्षेत्र पुगेको थियो । प्रदेश सरकारले प्रभावितका आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ ।
पाँचथरमा अविरल वर्षापछि आएको बाढी पहिरोका कारण फसेका १२ जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको छ । गएरातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।पाँचथर याङवारक गाउँपालिका १ फेदीस्थित पहिरोमा परि फसेकालाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहितको एक टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रको अवलोकनमा जाने भएको छ । टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला, शहरी विकासमन्त्री सीता गुरुङ, सांसदहरु योगेश भट्टराई, बसन्त नेम्बाङ, दीपक खड्का लगायत हुनेछन् । टोलीले ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । सडक सञ्जाल टुटेका ठाउँमा भौतिक पूर्वाधार मन्त्रालयले बेलिब्रिज पठाउन तयारी गरिरहेको छ भने उद्दार तथा राहत कार्य भइरहेको छ ।
प्रतिक्रिया