काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनपहिले दाङमा आयोजित एक कार्यक्रममा छिट्टै समाजवादी मोर्चा गठन हुने र नयाँ नेकपा बन्ने उद्घोष गरे ।
प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका थिए । लगत्तै नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले समाजबादी मोर्चामा सामेल हुने औपचारिक निर्णय गर्यो । मोर्चामा मओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतमलाई समेत जोड्ने भनिएको छ । असार १ मै मोर्चाको औपचारिक घोषणा गर्ने तयारी भएको भनिए पनि हाललाई केही पर सरेको छ । यो मोर्चाको आवश्यकता देशको आवश्यकताभन्दा पनि तत्तत् पार्टी र पार्टीका नेताहरूको अस्तित्व रक्षाको लागि हो भन्नेहरू धेरै छन् । मोर्चा बनाएर माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा ५२ देखी ५४ सिटको शक्ति संकलन गरेर कांग्रेसलाई दबाब दिन चाहन्छन् भने समाजवादी अस्तित्व रक्षासँगै एमालेलाई काउन्टर दिन चाहन्छ । जसपा,शक्तिमा रहेर सत्ता बार्गेनिङ गर्न चाहन्छ बाबुराम र विप्लवहरू भने द्वन्द्वकालीन मुद्दाहरू धमाधम अदालतमा पर्न थालेपछि पूर्वमाओवादी एकैठाउँमा जुट्नुपर्ने दबाबमा छन् ।
यद्यपि अझै बाबुरामको पार्टी मोर्चामा रहने नरहने निश्चित भइसकेको छैन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामार्फत विप्लवलाई मोर्चा हुँदै पार्टीमा भित्र्याएर शक्तिशाली बन्न चाहेका प्रचण्डलाई बाबुरामसँग एकता गर्दा आफ्नो शक्ति क्षय हुने आशंका बढेको बताइन्छ । मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको बताएका प्रचण्डले केही दिनमा समाजवादी मोर्चा घोषणा हुने र तल्लो तहसम्म समाजवादी मोर्चा बन्ने बताएका छन् ।
विगतमा नेकपा एमालेसँग एकता गरेर नेकपा बनाए पनि सफल नभएको भन्दै उनले फेरि नेकपा बनाउने कोसिस भइरहेको बताएका थिए । मोर्चाको नेतृत्व आलोपालो गर्ने भनिए पनि स्पष्ट खाका सार्वजनिक भैसकेको छैन ।
समाजवादी मोर्चा निर्माणको प्रयास यो पहिलो पटक भने भएको होइन । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भंग गर्ने २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसला लगत्तै प्रचण्डले समाजवादी मोर्चा निर्माणको पहल गरेका थिए । तर सफल हुन सकेन । प्रचण्डले अर्कोपटक वैशाख २०७९ र गत मंसिरको चुनावमा समाजवादी मोर्चा बनाउन गरेको प्रयत्न पनि सफल हुन सकेको थिएन । अहिले गठबन्धनको प्रधानमन्त्री रहेका प्रचण्ड संसदीय अंकगणितका कारण असुरक्षित महसुुस गरेका हुन सक्छन् त्यसकारण मोर्चा बनाउन तर्फ उनको जोडबल हुन सक्छ ।
यसलाई हाल ‘लुज फोरम’का रूपमा मात्रै अघि बढाउने र निर्वाचनमा एकै चुनाव चिह्नबाट लडने र दीर्घकालीन योजना भने पार्टी एकीकरण गर्ने भन्ने रहेको नेताहरूले बताए पनि मोर्चाको भ्यागुताको धार्नी पुग्छ भन्नेमा धेरैलाई विश्वास छैन् । बनिहालेमा दीर्घकालीन आवश्यकताभन्दा पनि तत्कालीन स्वार्थ त बाध्यताका रूपमा यो मोर्चा बन्नेछ । मोर्चाको तयारी भैरहेको बताइरहँदा केहीले समाजवादी संयुक्त मोर्चाविरुद्ध षड्यन्त्र सुरु भएको टिप्पणीसमेत सुरु गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रकाशन एवं प्रचारप्रसार विभाग इन्चार्ज अनिलले एक सञ्चार माध्यममा मोर्चा बन्न नदिन षड्यन्त्र सुरु भएको टिप्पणी गरेका छन् । प्रमुख प्रतिपक्षीदल एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार आयोजित एक कार्यक्रममा कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको टिप्पणी गरे । अध्यक्ष ओलीले एमालेसँग मुकाबिला गर्ने र कांग्रेसलाई तर्साउने मोर्चाको उद्देश्य भएको बताए ।
प्रतिक्रिया