काठमाडौं । पार्टीमा विपक्षी समूह(फरक गुट) लाई कमजोर बनाएर आफू शक्तिशाली बन्ने खेलमा माहिर मानिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यही रणनीतिका कारण चौधौं महाधिवेशनमा निकै बलियो सावित भइसके पनि पछिल्लो समय पार्टीभित्र बढेको असन्तुष्टि र नेतृत्वको आलोचनालाई सम्बोधन गर्नुको सट्टा आलोचकहरूलाई फुटाएर कमजोर बनाउने र आफू गुटकै आधारमा थप शक्तिशाली बन्ने ध्याउन्नमा लागेका छन् । गत भदौयता केन्द्रीय समितिको बैठक डाक्न नसकेको, चुनावको समीक्षासमेत गर्न नसकेको, केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, कोषाध्यक्ष चयन गर्न नसकेको, ६ महिनाभित्र गर्नुपर्ने भनिएको विधान महाधिवेशन नगरेको, सरकारमा पठाउने नेताहरूको नाम एकलौटी चयन गरेको तथा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँणलाई निलम्बन नगरेको जस्ता विषयले आफ्नो आलोचना चुलिएपछि देउवाले आफूले कमजोरी सुधार गर्न छाडेर उल्टै आलोचकहरूलाई फुटाउने र आलोचनाको आवाज मधुरो बनाउने प्रयासलाई तीव्र पारेका छन् ।
गत वैशाखभित्रै केन्द्रीय समितिको बैठक बोलाउने एकसरो सहमति भइसकेको अवस्थामा देउवाले न केन्द्रीय समितिको बैठक आह्वान गरे, न त तोकिएको समयभित्र नै भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिए । लामो समयदेखि तदर्थवादमा चलेका पार्टीका जनवर्गीय संगठन अस्तव्यस्त भइसक्दा समेत देउवाले आफ्ना अन्धसमर्थक खोजी गरिरहँदा सिंगो पार्टी संगठन नै भद्रगोल अवस्थामा पुगेको छ ।
चौधौं महाधिवेशनमा झन्डै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको मत पाएका नेता शेखर कोइरालाले फरक विचार समूहको प्रतिनिधित्व गरिरहे पनि पार्टीका निर्णय प्रक्रियामा देउवाले उनलाई सहभागी गराएकै छैनन् । आम जनताले आशा भरोसा गरेका दुई महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाको कुरालाई पनि देउवाले सुन्ने गरेका छैनन् । महाधिवेशनमा उनीसँगै निर्वाचित कार्यकारी अधिकारसहितका पदाधिकारीलाई समेत देउवाले भूमिका र जिम्मेवारीविहीन मात्रै बनाउन खोजेका छैनन्, निष्प्रभावी बनाउन खोज्दै छन् । आफ्नो किचन क्याबिनेटका सीमित केही नेताहरूको सल्लाहका आधारमा मात्रै देउवाले पार्टी सञ्चालन गरिरहेका छन् ।
गत साता उपचारका लागि सिंगापुर गएका सभापति देउवाले सिंगापुर जानुअघि विपक्षी समूहमा फाटो ल्याउन नयाँ कार्ड प्रयोग गरेका छन् । सभापतिमा पराजित नेता शेखर कोइरालालाई वरिष्ठ नेता बनाउने र केन्द्रीय समितिमा आफूपछिको वरीयतामा राख्दै केन्द्रीय कार्यालयमा छुट्टै कार्यकक्ष राखिदिने प्रस्ताव आफ्ना निकटस्थहरूमार्फत सार्वजनिक गर्न लगाएर देउवाले फेरि एक पटकफरक विचार समूहमा विभाजन ल्याउने चाल चालेका छन् । देउवा निकटस्थ नेताहरूले यो प्रस्तावलाई जोडतोडका साथ प्रचार गरिरहेका छन् । यद्यपि, नेता कोइरालाले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।
अघिल्लो महिना मन्त्रिपरिषद् विस्तारका क्रममा पनि देउवाले शेखर, गगन समूहमा फाटो ल्याउने प्रपञ्च रचेका थिए । खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सिफारिस गरेका एक जना नेतालाई पनि मन्त्री नबनाएका देउवाले शेखर कोइरालाकै सिफारिस डिगबहादुर लिम्बूलाई मन्त्रीबनाएको भनेर कोइराला गुटलाई फकाउन खोजिरहेका छन् ।
मन्त्रिपरिषद्मा कांग्रेसका ९ जना मन्त्री हुँदा देउवा इतर समूहबाट जम्मा ३ जना मन्त्री छन् । जबकि महाधिवेशनमा पाएको मतका आधारमा पनि कम्तीमा ४ जना मन्त्री पाउनुपर्ने इतर समूहको माग थियो ।
१३औं महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति चुनिएका देउवाले चौधौं महाधिवेशनसम्म आइपुग्दा पौडेलका कुनै प्रस्ताव स्वीकार गरेनन् । चौधौं महाधिवेशनमा फेरि सभापति बन्न खोजेका देउवाले आफू अप्ठेरोमा पर्नसक्ने आकलन गर्दै वरिष्ठ नेता पौडेलसँग सुटुक्क साँठगाँठ गरे । जसका कारण महाधिवेशनमा पौडेल मौन रहे भने संसदीय दलको नेता चयनको निर्वाचनमा त पौडेल देउवाका प्रस्तावक नै बने । फरक समूहबाट पौडेललाई छुटाएपछि बलियो बनेका देउवाले अहिले फेरि त्यही रणनीति अँगालेका छन् । भ्रातृ संस्थाको चुनाव गराउँदा आफ्नो पक्षले जित्न नसक्ने भएकाले उनी यसलाई पन्छाएर विभागहरू गठन गर्ने अभियानमा लागेका छन् । विभागहरूमार्फत उनी आफनो गुटलाई अझ बलियो पार्ने र अर्को गुटमा लागेका कार्यकर्ताहरूलाई उपेक्षा गरी असुरक्षित अनुभूति गराउने रणनीति अपनाएको छन् । हालै उनले महिला संघलाई विस्तार गर्नुका साथै पार्टीको प्रचार विभाग गठन गरेका छन् । यसमा सबै सदस्यहरू देउवाको निर्देशनमा राखिएका हुन् । जसमा अर्को गुटको कुनै पनि कार्यकर्तालाई स्थान दिइएको छैन । अन्य विभागहरू गठनका लागि नाम संकलन गर्ने काम भइरहेको छ । तर, त्यसमा आफ्नो पक्षका नेताहरूले दिने नामहरूलाई मात्र समावेश गर्ने तयारी भएको बुझिन्छ ।
प्रतिक्रिया