देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नोस्टालजिया अर्थात् जाँगर नचलेका बेला


देश विदेशका ठूल्ठूला काम कुरा छाडेर सानातिना, आफ्नै वरिपरिका मामुली तथा धेरैका नजरमा नपरेका विषयमा चर्चा गर्ने उपक्रमलाई नोस्टालजिया भन्छन्, अंग्रेजीमा । नेपालीमा ठ्याक्कै के भन्छन्, त्यो आफैंलाई थाहा छैन । आज किन किन आफ्नै कुरा मात्र गर्न मन लागेको छ । अर्काको कुरा काट्ने जाँगर पटक्कै चलेको छैन । शायद, नयाँ र नौला विषय नभएकाले पनि होला, आफैंतिर फर्केर आफ्ना कुरा गर्न मन लागेको !

हुन त, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल जुन दिन भारतको भ्रमणमा दिल्ली पुगेका थिए, त्यसै दिनदेखि नेपालमा अखण्ड भारतको नक्साको विरोधले बजार पाउन थालेको थाल्यै छ, सेलाउने नामै लिएको छैन । लेओस् पनि कसरी ? राष्ट्रवाद प्रदर्शनको अपूर्व अवसर जो मिलेको छ । त्यसलाई गुमाउन कोही तयार छैनन् । आवश्यक परे उनीहरू दिल्ली कुच गर्न पनि तयार देखिएका छन् । चुप लागेर बस्न उनीहरू कसरी सकुन् । राष्ट्रमाथि अकल्पनीय संकट जो आइपरेको छ । त्यसैले राष्ट्रभक्तहरू देशका लागि मर्न मिट्न कटिबद्ध मात्र छैनन्, तत्पर नै छन् ।

त्यसको प्रमुख कारण भारत सरकारले राजधानी दिल्लीमा नयाँ निर्माण गरेको संसद् भव्य भवनका भित्ताका आफ्नो इतिहास, संस्कृति र सभ्यताको विरासत झल्कने चित्रहरू अंकित गरेको र त्यसलाई आगामी पुस्ताका निम्ति कसरी सुरक्षित राख्नुपर्छ, त्यसको उत्कृष्ट कलात्मक नमुना प्रस्तुत गरेको घटनालाई, राम्ररी अध्ययन नै नगरी लहैलहैमा विरोधको लहर चलाएको देख्दा सक्कली नेपाली नागरिकलाई आश्चर्य लाग्नु स्वाभाविक हो ।

भुटानी शरणार्थीका प्रसंगमा नक्कली र सक्कली नागरिकताको नाटक लामै चलेको कसैले भुलेका छैनन्, किनभने त्यो प्रसंग अझै ताजै छ, सेलाइसकेको छैन । आज जसलाई नक्कली भनिएको छ, वास्तवमा ती सक्कली नेपाली नागरिक हुन् । जो सक्कली भएकाले अमेरिका गएर त्यहाँको नागरिकता लिन यताको नागरिकता त्याग्न मात्र होइन, बेच्न तयार छन्, यथार्थमा ती चाहिँ नक्कली हुन् । किनभने तिनको मूल र कुल दुवै नेपाली होइन ।

कुनै उपायले नागरिकता लिएका तर मूल र कुलको ठेगान नभएका प्राणीमध्ये काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह पनि एक हुन् । उनी तराईबाट काठमाडौं आएका र सञ्चार प्रविधि र निर्वाचन प्रणालीको उल्कापातका कारण नगरपालिकाको प्रमुख पदमा पुगेका हुन् भन्नेमा कसैलाई कुनै शंका छैन । त्यो कुरा, उनले कौवाले कान लग्यो भनेका भरमा आफ्नो कान नछामेर कार्यालयमा ग्रेटर नेपालको नक्सा टाँस्ने र त्यसको फोटो प्रचार गर्ने जुन काम गरे, त्यसबाट पनि यो प्रश्न उठ्न पुगेको छ कि उनले गर्न खोजेका के हुन् ? त्यसो गरेर उनले नेपाल सरकारलाई भारतविरुद्ध उक्साएका हुन् कि नेपालविरुद्ध युद्ध गर्न भारतलाई उचालेका हुन् ? होइन भने युद्धका निम्ति विषाक्त वातावरण तयार पार्न प्रयोग हुने एजेन्ट प्रोभोकेटरको काम, उनले किन गरे ? भारतसँग मेची र महाकालीबाहिरका ग्रेटर नेपालका जति भूभाग छन्, तिनलाई फिर्ता लिन युद्ध गर्नुको अर्को विकल्प छैन । त्यसैका लागि काठमाडौंका जनतालाई तयार पार्न उनले त्यसो गरेको भए सेना भर्नाको काम पनि छिट्टै थाल्ने होला ! हातहतियार दिनेको कमी छैन । पैसा चाहिने हो, त्यो पाउने निश्चित भएरै तुजुक जागेको हुनुपर्छ भन्ने अनुमान लगाउन गाहारो छैन ।

दोस्रो विश्वयुद्धमा आफ्नो देशलाई होमेर आजसम्मको सबैभन्दा ठूलो विनाश निम्त्याउने एडल्फ हिटलर, चान्सलर त जर्मनीका थिए तर नागरिक जर्मनीका थिएनन्, अस्ट्रियाका थिए । त्यही कारण उनी देश र जनताप्रति निर्मम तथा निष्ठुर भएर प्रस्तुत भएको आरोप अरुले होइन, उनका विश्वास प्राप्त जनरलहरूले न्युरेम्बर ट्रायलका क्रममा दिएको बयानमा लगाएका थिए । व्यक्तिको व्यक्तित्व विकास तथा सामाजिक जीवनमा त्यसको प्रभावलाई मूल र कुलले निर्णायक योगदान गरेको हुन्छ । अखण्ड भारतप्रतिको भारतीय दृष्टिकोणलाई उनीहरूका भवनका भित्तामा चित्रित गरेको ऐतिहासिक परिप्रेक्ष्यलाई एउटा नगर प्रमुखले अनावश्यक प्रतिक्रिया व्यक्त गरेर नेपाल र भारतको सम्बन्धमा हठात् नकारात्मक तरंग पैदा गर्नु आपत्तिजनक मात्र होइन, निन्दनीय घटना पनि हो ।

सत्य हो, नेपालको सीमा कुनै बेला, पश्चिममा किल्ला, काँगडा र पूर्वमा टिष्टासम्म पुगेको थियो । राजा पृथ्वीनारायण र उनका उत्तराधिकारीले लडाइँमा जितेर ती भूभाग नेपालमा मिलाएका थिए । सन् १८१४ मा भारतमा शासन चलाइरहेको इस्ट इन्डिया कम्पनीको सरकारसँग युद्धमा हारेर १८१६ मा सुगौली सन्धि गर्न बाध्य भएपछि नेपालले ती भूभाग गुमाउनु परेको हो । सन् १९४७ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गर्दा ती भूभाग, भारतले विरासतमा प्राप्त गरेको हो । सन् १९५० को नेपाल र भारतबीचको शान्ति र मैत्री सन्धिले पनि त्यो वास्तविकतालाई अंगीकार गरेको छ । लडाइँबाट हारेको जमिन अर्को लडाइँ गरेर जितेपछि मात्र फिर्ता हुन्छ । लाटाले पनि बुझ्ने कुरालाई काठमाडौंका भित्तामा नक्सा बनाएर टाङ्दैमा त्यो फिर्ता हुँदैन । सुर्ता मात्रै बढ्छ ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूभाग घोषित गरेर चुच्चे नक्सा निकालेको धेरै भइसके पनि त्यो नक्सा अहिलेसम्म बेवारिस छ, त्यसको कदर नेपाल र भारत दुवैतिरबाट भएको छैन । त्यसको प्रमाण हो, २०८० वैशाख २९ गतेको गोरखापत्र, जसमा समाचार छापिएको छ– “कालापानी क्षेत्रमा फहराइयो राष्ट्रिय झन्डा” । त्यही समाचारमा व्यास गाउँपालिकाको कार्यपालिकाको एउटा बैठक टिंकरमा आयोजित भएको र त्यसका निम्ति भारतको स्वीकृति लिएर त्यहाँ पुगेको कुरा पनि तस्बिरसहित छापिएको छ । त्यो एउटै समाचारले दुइटा कुरा प्रस्ट पारेको छ । त्यो के भने नक्सा प्रकाशित भएको यतिका वर्ष बितिसक्दा पनि नेपाल, भारत र तिब्बतको नाकामा अवस्थित टिङ्करमा पुग्ने बाटो अझसम्म नेपालले बनाउन सकेको छैन र त्यहाँ पुग्न भारतकै बाटो र अनुमतिको भर पर्नु परेको छ । त्यो पीडादायी यथार्थलाई संवाददाताले यसरी टुंग्याएका छन्– “कालापानी क्षेत्र समेटेर नक्सा जारी भए पनि त्यो क्षेत्र अझै नेपालले पाएको छैन ।” ग्रेटर नेपालभन्दा त्यो सानो भागको रक्षाका निम्ति काठमाडौंबाट कुच गरे कसो होला ?
०००