देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेस युनयनको तेश्रो केन्द्रिय समिति बैठक

शाखा अधिवेशनहरु असार ५ भित्र सम्पन्न गरिसक्ने समयसिमा

देशान्तर

काठमाडौं । नेपाल प्रेस युनियनका अधिवेशन हुन बाँकी शाखा अधिवेशन आगामी असार ५ गते भित्रमा सम्पन्न गर्नुपर्ने भएको छ ।
अहिलेसम्म ३१ शाखाको अधिवेशन सम्पन्न भएपनि अन्य शाखामा अधिवेशन नभएकाले असार ५ गतेसम्मका लागि समय तोकिएको हो । अहिले तोकिएको समयसिमा भित्र पनि अधिवेशन गर्न नसक्ने शाखा नेतृत्वको हकमा समयावधि सकिएपछि कठोर निर्णय गर्ने युनियनको तयारी छ ।

प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा भक्तपुरमा सम्पन्न युनियनको तेस्रो केन्द्रीय समितिको बैठकमा अव कुनैपनि बाहनामा अधिवेशन पछाडि सार्न नहुनेमा सबैले जोड दिएका थिए । प्रेस युनियनले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ लाई प्रभावकारी बनाउन बैठकले जिम्मेवारी पनि बाँडफाँड गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए ।

बैठकले पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयार समिति र नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षक व्यवस्थापन समिति गठन गरेको छ ।

नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियनले नजिकबाट नियालिरहेको बताउँदै सदस्यता शुद्धीकरणमा प्रेस युनियनको साथ रहेको जनाएको छ । तर, सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढिरहँदा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गरिएमा युनियनले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न प्रेस युनियनले दबाब दिने भएको छ । काम गरेर पनि भु्क्तानी नपाएका पत्रकारहरुले युनियनमा जानकारी गराएमा भु्क्तानी गराउने जिम्मेवारी युनियनले पुरा गर्ने युनियनका अध्यक्ष लम्सालले अठोट व्यक्त गरे । युनियनले सरकारी समाचार एजेन्सीको समाचार सेवा साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क उपलब्ध गराउनुपर्ने माग गरेको छ ।