काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान मिचेको बताएका छन् । उनले एमाले सांसदहरूले विधेयकका विषयमा नभएर प्रक्रियाका विषयमा प्रश्न राखेपछि त्यसबेला एमालेले प्रक्रियालाई ध्यान नदिएर राष्ट्रपतिलाई उकास्ने भूमिका खेलेको सन्देश दिने प्रयास गरेका थिए ।
प्रधानमन्त्री दाहालले संविधानको संरक्षकबाटै संविधान मिचिएका कारण समस्या परेको बताए । उनले संविधानअनुसार सरकार, सदन यी सबै संस्थाहरू अविछिन्न उत्तराधिकारवाला संस्था हने भएकाले सरकारले राष्ट्रपति कार्यालयमा रहेको विधेयक प्रमाणीकरण गरिदिन अनुरोध गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक संसद्बाट पुनः अघि बढाउँदा अघिल्लो राष्ट्रपतिले जस्तै दुई–दुईपटक विधेयक होल्ड गरिदिए के हुन्छ भन्दै प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सबै प्रकृया पुर्याएर राष्ट्रपतिकहाँ पठाएपछि अहिलेका राष्ट्रपतिले पनि पहिलेजस्तै विधेयक होल्ड गरे के हुन्छ भन्दै प्रश्न गरे ।
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका क्रममा त्यहाँको नयाँ संसद् अघि राखिएको नक्साबारे आफूले कुरा राखेको बताए । उनले आफू त्यसअघि गएर हात हल्लाएको कुरा गलत भएको बताए । सोमबारको प्रतिनिधिसभा बैठकमा होहल्लाका बीच प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र त्यसबारे उठेका प्रश्नको जवाफ दिएका थिए । प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानलाई ट्र्याकमा ल्याएको भनाई राखे । उनले संसदको दुबै सदनले दुई पटक पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्दा पनि हुने नजीर बसे भोलि के हुन्छ भन्ने पनि प्रश्न गरे ।
यो विधेयकको स्थिति विशिष्ट रहेको भन्दै उनले यत्तिकै छाड्दा भोलि लोकतन्त्र र संविधान नै खतरामा पर्ने जोखिम रहेको बताए ।
सरकारले कमभन्दा कम क्षतिसहित संविधानलाई ट्याकमा ल्याउन चोहेको उनले बताए।
यद्यपि अब यो विषय अदालतमा पुगेको र अल्पकालीन अन्तरिम आदेश आइसकेको भन्दै उनले अदालतको फैसला आएपछि फेरि बहस गर्ने बताएका छन् । संसद बैठक जारी छ अहिले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल भैरहेको छ ।
प्रतिक्रिया