जेठ महिनाको उत्तरार्ध हुँदै गर्दा काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ, तराईका अधिकांश जिल्लामा त तातो हावा (लु)समेत चल्न सुरु गरेकोले मुलुकभरिको जनजीवन कष्टकर बन्दै गइरहेको छ । तीनै तहका सरकार (स्थानीय, प्रदेश र संघ) भने ‘कानमा तेल’ हालेर बसेझैं उदासीन देखिएका छन् । प्रत्येक वर्ष गर्मी र आगलागीका कारण सयौंको ज्यान जाने र करोडौंको धनमालको क्षतिका घटनाहरू दोहोरिरहँदा पनि सरकारको मौनता गैरजिम्मेवारीको परकाष्ठाको रूपमा लिइएको छ । तराईमा विद्यालय बन्द गर्ने र घरबाट ननिस्कनु भन्ने सन्देशमात्र प्रवाह गर्ने र देशभर पनि सञ्चारमाध्यमहरूबाट सूचनामूलक सन्देश जारी गरी झारा टार्ने कामबाहेक उखरमाउलो गर्मी र आगलागीबाट बचाउन ठोस कार्य गरेको अहिलेसम्म भेटिएको छैन । त्यसैले जनता आफैं सचेत भई गर्मी र आगलागीबाट जोगिनुबाहेक अन्य विकल्प छैन । चेतनामूलक सन्देशमात्रले गर्मीबाट जोगिन सकिँदैन ।
जेठ महिना लागेलगत्तै केही दिन वर्षा भए पनि पछिल्ला दिनहरूमा पानी परेको छैन भने घाम चर्किंदै जाँदा तामक्रम ह्वात्तै बढेको छ । तराई मधेसका अधिकांश जिल्लामा अधिकतम तापक्रम ४० डिग्री नाघेको छ । ठाउँठाउँमा आगलागीका घटना भएका छन् भने आगलागीबाट गत सातामात्रै ८ जनाको मृत्यु भइसकेको छ । गर्मी बढेकाले नदी तथा तलाउमा नुहाउन तथा पौडी खेल्न जाने क्रममा डुबेर पनि कयौं बालबालिकाको अकालमै मृत्यु भएको छ ।
मध्य तथा पूर्वी तराईका अधिकांश जिल्लाका विद्यालय धमाधम विद्यालय हुन थालेका छन् । चर्को घाम लाग्ने तथा तातो हावा चल्ने हुँदा बालबालिका विद्यालय पुग्नै नसक्ने अवस्था सिर्जना हुनु र विद्यालय पुगे पनि पठनपाठनको वातावरण बन्न नसक्नुलगायत कारणले विद्यालय बन्द गर्नु परेको जनाइएको छ । सरकारी कार्यालयमा पनि सेवाग्राहीको चाप घट्न थालेको छ । अत्यावश्यक बाहेक कामका लागि आम नागरिक सेवा प्रवाह गर्ने कार्यालयमा जान छाडेका छन् । दिउँसोको समयमा त घरबाहिर निस्कनै नसकिने अवस्था रहेको ती जिल्लाका नागरिकहरूको गुनासो छ ।
गर्मी बढ्दै जाँदा खोला, नदी तथा तलाउमा डुबेर मृत्यु हुने क्रम पनि बढ्न थालेको छ । गर्मी कम गर्न पानीमा हाम फाल्ने तर, पानीबाट बाहिर निस्कन नसक्ने कारणले मानिसको अकालमै ज्यान जाने गरेको हो । यति मात्रै होइन, ठाउँठाउँमा रोगको महामारी पनि देखिन सक्छ । गर्मी याममा शुद्ध र स्वच्छ खानेपानीको अभाव हुने भएकाले रोगव्याधिको सम्भावना प्रबल रहने जनस्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ ।
गर्मीका कारण जनजीवन प्रभावित भइरहँदा पनि कुनै पनि तहका सरकारले गर्मीबाट जनतालाई जोगाउने विषयमा ध्यान दिएका छैनन् । तीन तहका सरकार रहे पनि नागरिकले समस्यामा सरकारको अनुभूति गर्न पाएका छैनन् । नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको अभाव छ भने गर्मीका कारण हुन सक्ने रोगव्याधिबाट बचाउने बारेमा सरकारी योजना छैन ।
गर्मीबाट जोगिन के गर्ने, के नगर्ने ? प्रचण्ड गर्मीको समयमा पनि दैनिक मजदुरी नगरी खान नपाउने मजदुरहरूलाई यो समयमा कसरी राहत प्रदान गर्ने, रोगव्याधि लागिहालेमा तत्काल उपचारका लागि के गर्ने ? स्वास्थ्य संस्थाहरूलाई कसरी तम्तयार अवस्थामा राख्ने ? यी र यस्तै विषयमा कुनै पनि तहका सरकारको चासो देखिँदैन । जनचेतनाकै अभावका कारण हुन सक्ने जोखिम तथा दुर्घटना र त्यसको नियन्त्रणका लागि अपनाउनुपर्ने पूर्वतयारीका बारेमा सरकार सचेत त हुनुपर्छ नै, नागरिकहरूलाई पनि जानकारी गराउनुपर्छ ।
गर्मी लगत्तै वर्षायाम सुरु हुन्छ । वर्षा याम हरेक वर्ष विपत्ति बनेर आउने गरेको अनुभव छ । बाढी, पहिरो, डुबानलगायतले पु¥याउने जनधनको क्षतिको फेहरिस्त लामो छ । आगामी मनसुनमा पनि यो क्रम दोहोरिने निश्चित छ । मनसुन सुरु हुन अब केही दिनमात्रै बाँकी रहँदा पनि कुनै पनि तहका सरकारले पूर्वतयारी थालेका छैनन् । विपत् आइसकेपछि पछुताउने विगतको प्रवृत्तिले यसपालि पनि निरन्तरता पाउने निश्चित छ ।
प्रतिक्रिया