देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निवृत्तिभरण :  हिजो, आज र भोलि


विषय प्रवेश

निवृत्तिभरणलाई बोलीचालीको भाषामा अंग्रेजी शव्द पेन्सन (pension) भनेर सजिलै बुझ्ने गरिन्छ । नेपाली समाजमा पहिला देखि नै भारतीय र वेलायती सैनिक पृष्ठभूमीका अवकाश (Retired) प्राप्त धेरै लाहुरे नेपाली दाजुभाइहरुले निवृत्तिभरण प्राप्त गर्ने गरेवाट हाम्रो नेपाली समाजमा पेन्सन शव्द नै अति प्रचलित तथा लोकप्रिय रहेको छ । “कुनै पनि स्थायी कर्मचारीले नोकरीको निश्चित अवधि पूरा गरेर अवकाश पाएपछि सम्वन्धित कार्यालयवाट आजीवन पाउने निर्वाह भत्ता ; पेन्सन” लाई निवृत्तिभरण भनिन्छ भनि नेपाली शव्दकोषमा उल्लेख गरको पाइन्छ ।

आफ्नो जीवनको उर्जाशिल र उत्पादनशील समयलाई राष्ट्रसेवामा समर्पण गरी निवृत्त भएपछि वा मृत्यु पश्चात निज वा निजको परिवारलाई जिविकोपार्जन वापत राज्यवाट दिइने नियमित निश्चित मासिक रकमलाई निवृत्तिभरण भनिन्छ । जीवनको उत्तरार्धमा काही कतै भौतारिन नपरोस, अशक्त अवस्थामा ‌औषधी उपचार लगाएतका रकम खर्च गर्न रकमको अभाव नहोस, विगतको राष्ट्रसेवाको अपनत्व महशुस होस भन्ने हेतुले निवृत्तिभरणको व्यवस्था गर्ने प्रचलन रहेको पाइन्छ ।

निवृत्तिभरण सामजिक सुरक्षाको भरपर्दो साधन हो ।हाल सरकारी तथा गैर सरकारी दुवै क्षेत्रवाट सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने विभन्न कार्यक्रमहरु संचालनमा आइरहेका छन । नेपालको संविधान वमोजिम जेष्ठ नागरिक ,आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका ,असहाय एकल महिला,अपांगता भएका बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न विभिन्न प्रकारका सामाजिक सुरक्षा कार्यक्रमहरु संचालनमा आएका छन । लोककल्याणकारी राज्यले आफ्ना नागरिकहरु प्रतिको दायित्व निर्वाह गर्ने सन्दर्भमा मासिक रुपमा उपलव्ध गराइएका यी सामाजिक सुरक्षा कार्यक्रमका आर्थिक सुविधालाई पनि नागरिकहरुले निवृत्तिभरणको रुपमा लिएका छन । सहज जीवनयापनको आधार मानिरहेका छन । राज्यले सामाजिक सुरक्षा प्रदान गर्ने व्यक्तिहरु पारिवारिक वोझ नभएर ओज वनिरहेका छन ।

विश्वमा शुरुवात

१८ र १९ औ शताव्दीमा धेरै युरोपियन मुलुकहरु युध्दमा होमिए । राज्यवाट युध्दमा होमिन युवाहरुलाइ आव्हान गरियो तर कोही तैयार भएनन । उनीहरुलाई आकर्षण गर्न राज्यले निवृत्त जीवनको भरणपोषणको सुनिश्चितता दिन थाले । यसरी निवृत्तिभरणको  विकास भयो । सन १८८३ मा जर्मनिका विस्मार्कवाट सैनिक तर्फ वृध्दावस्थामा सुरक्षाको लागि शुरुवात गरेको योजनावाट नै विश्वमा निवृत्तिभरणको शूरुवात भएको विश्वास गरिन्छ । योग्य, साहसी र उच्च प्रतिभा भएका नागरिकहरुले राज्यलाई सेवा दिएमा नागरिकले धेरै फाइदा पाउने र त्यस्ता राष्ट्रसेवक पाउन राम्रो उत्प्रेरणा आवश्यक ठानियो । त्यत्तिखेरको युरोप आज जस्तो सम्वृध्द नभएकाले आर्थिक प्रत्याभूतिको महत्व अहं थियो ।

नेपालमा शुरुवात

तत्कालिन श्री ३ चन्द्रसम्सेर जवरा आफ्नो  आठपहरिया (अङ्गरक्षक) ले सेवावाट निवृत्त भएपछि चन्द्रागिरीको वाटोमा भारी वोकेर हिडेको देख्छन । भलाकुसारीमा भारी वोकी दुखजिलो गरेर  जीवनयापन गरेको मार्मिक कुरा थाहापाउँछन । खाली हात सेवावाट अवकाश भएपछीको अवस्थाको मर्म र दोस्रो विश्व युध्दमा बृटिस सरकारको सहयोगार्थ नेपाली सेना पठाउने सरकारको निर्णयलाई प्रभावकारी वनाउन विसं १९९१ मा सैनिक द्रव्यकोषको स्थापना भयो । विसं १९९८ साल भाद्र १७ गतेवाट श्री ३ जुध्दशम्सेरले आफ्नो जन्म दिनको भाषणवाट सैनिक सेवामा रहेका जवानहरुले तलवको ५ खण्डको १ खण्ड जीवनभर निवृत्तिभरण पाउने व्यवस्था भयो । निजामती कर्मचारी तर्फ भने  विसं १९९९ मार्ग १४ गतेका दिन दुई छापे सनद (कुनै कामको निकासा पुकासा वा बन्दोवस्तका वारेमा दिइने सरकारी आज्ञापत्र ) जारी गरि नौसिन्दा ( तल्लो तहका कर्मचारी ) देखि बडाहाकिम ( राणा शासनको समयमा जिल्लाको सर्वोच्च निजामती अधिकारी ) सम्म २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका कर्मचारीहरुलाई दरवन्दी खान्गी (तलव) को छ खण्डको एक खण्ड निवृत्तिभरण दिने व्यवस्था गरियो ।

बर्तमान सन्दर्भमा

आफ्नो उर्जाशील जीवन नेपाल सरकारको सेवामा विताई सेवा निवृत्त भएका निजामती कर्मचारीहरु, सामुदायिक विद्यालयका शिक्षकहरु ,नेपाली सेना र नेपाल प्रहरी , सशस्त्र प्रहरी वल तथा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुको बुढेशकालमा वाँच्न सक्ने दरिलो र दिगो आयश्रोत होस भन्ने अभिप्रायले नेपाल सरकारले निवृत्तिभरण र मृत्यु पश्चात पारिवारिक निवृत्तिभरणको व्यवस्था गरेको छ । निवृत्तीभरणको प्रशासनिक प्रकृया केन्द्रमा मात्र सिमित रहदा सेवा ग्राहीलाई असहज मात्र नभै काठमाण्डौ धाउनु पर्दा जीवन निर्वाह गर्न दिइको रकम प्रकृयागत अनुत्पादक कार्यमा खर्च गर्नु पर्दा सेवाग्राहीलाई पर्न गएको पीर मर्का निवारण गर्न, मितव्ययी, प्रभावकारी, छिटो ,छरीतो सेवा प्रदान गर्न, सरकारको छविलाई स्वच्छ तथा सरकारी सेवालाई स्थानीयस्तरमा नै सेवा प्रवाह गरी राज्यको उपस्थिति घरदैलोमा पुगेको महसुस दिलाउन उमेरका कारण अनिवार्य अवकाश हुने कर्मचारीले कार्यालयको आफ्नो अन्तिम बिदाई संगै पेन्सन पट्टा हातमा पाउने र विना झन्झट आफनै जिल्लावाट पारिवारिक पेन्सन पट्टा पाउने व्यवस्था हुने निर्णय भए पनि सवै सरकारी कर्मचारीको हकमा कार्यान्वयनमा आइ सकेको पाइदैन । निवृत्तिभरण अभिलेख राख्ने तथा मासिकरुपमा निवृत्तिभरण निजहरुले रोजेको वैंक मार्फत भुक्तानी निवृत्तिभरण व्यवस्थापन कार्यालयले गर्ने गर्छ । निवृत्तीभरक प्रत्येक महिना वैंकमा उपस्थित भै पेन्सनपट्टा पेश गरी ग्राहकको लामो लाइनमा बसी रकम भुक्तानी  लिनु पर्दाको असुविधालाई दृष्टिगत गरी २०७०।१०।०१ देखि बैंकखाता मार्फत भुक्तानी पाउने सहज र निकै प्रभावकारी व्यवस्था रहेको छ ।

  निवृत्तिभरण दायित्व :

अन्तर्राष्ट्रियस्तरमा समान्यतया दुई प्रकारका पेन्सन योजना हुन्छन

क) निश्चित लाभ योजना – सवै व्ययभार राज्यले व्यहोर्ने ।

ख) निश्चित सहभागिता योगदान मूलक – सेवा अविधमा नै पेन्सनकालागि निश्चित रकम उपलव्ध गराउने ।

विसं.२०७६ असार मशान्त सम्म नेपाल सरकारले निश्चित लाभ योजना अर्थात सवै व्ययभार संचितकोषवाट व्यहोर्ने व्यवस्था थियो । विकास निर्माणमा खर्चगर्नु पर्ने ठूलो रकम पेन्सनमा खर्च गर्नु पर्ने , राजस्वले चालु खर्च पनि धान्न नसकी रहेको अवस्थामा पेन्सनको दीर्घकालिन वोझवाट मुक्ति पाउने उदेश्यका लागि विसं.२०७६ श्रावणवाट स्थायी नियुक्ती हुने सवै प्रकारका सरकारी कर्मचारीका लागि योगदानमा आधारित पेन्सन योजना लागु भएवाट नेपालमा दुवै प्रकारका पेन्सन योजना कार्यान्वयनमा छन । योगदानमा आधारित पेन्सन योजनामा सम्वन्धित कर्मचारीको मासिक तलव वाट ६% रकम कट्टा गरी सरकारले शत प्रतिसत थप गरी जम्मा गर्ने र सेवावाट अवकाश पश्चात पेन्सनकोरुपमा रकम पाउने व्यवस्था भएको छ ।यसरी राज्यलाई पेन्सनको व्ययभार कम हुने अपेक्षा गरिएको छ।

अन्तराष्ट्रियमान्यता अनुसार  सेवा निवृत्त कर्मचारीहरुकोलागि देशको वार्षिक कुल राजश्वको २% मात्रै खर्च गर्ने गरिन्छ तर नेपालमा भने ५% भन्दा वढि भै रहेको तथ्यांकले देखाउछ। निरन्तररुपमा बढ्दै गएको निवृत्तिभरण दायित्व राज्यले थेग्न हम्मे हम्मे पर्ने स्थिति सिर्जना भएको छ । यस विषयमा निकै वहसहरु हुने र सेलाउने गरेका छन । अवकाशको उमेर वढाउने देखि  छिटै निवृत्त भए पनि निश्चित समय पछि मात्र रकम दिन थाल्ने जस्ता विषयहरुले पनि छलफलको विषयमा प्रवेश पाएका छन ।

सेवानिवृत्तको मनोविज्ञान

सेवावाट अवकाश प्राप्त व्यक्ति अनुभव ,सिप र ज्ञानको पूञ्ज हो । थिंक ट्याकंर हो ।  एक कालखण्ड पार गरेको खारिएको , माझिएको र तिखारिएको ऐतिहासिक पात्र हो । मेशिनले कुदेर चिल्ला वनाएर काशीवाट ल्याइएका  शालीग्राम  जस्तो होइन कालिगण्डकीको मूहान देखि वर्षायामको उर्लदो भेलमा लाखौ, करोडौ पटक ठोक्कीदै ,पल्टदै , डुवुल्की मार्दै तिर्थस्थलमा आइपुग्दा वनेका चिल्ला शालीग्राम हो। यसै सन्दर्भमा एउटा पंछीको उपमा दिन उपयुक्त ठाने ।

पन्छी चील जव ४० बर्षकेा हुन्छ,उसकेा चुच्चेा बोधो हुन्छ, पखेटा निस्कृय भै काम गर्न छाड्छन,चीलले ठुलेा पहाडको चट्टानमा गयर चुच्चेा र पखेटालाइ जेाडले ठेाक्छ,बुचेा वनाउँछ  क्रमश चुच्चो र पखेटा पलाउँछन, चील जोशिलो भएर पुन: शिकार गरी ३०बर्ष बाँच्छ । पंछी त यसरी आफ्नै बलबुतावाट अतिरिक्त उमेर खुसीसाथ यापन गर्छ भने नेपालीको औषत आयु र अवकाशको उमेरमा धेरैको फरक भै सकेको छ । उमेर बाधक वन्दैन । सेवावाट अलग भएपछि स्वतन्त्र नागरिकको हैसियतमा सामाजिक ,धार्मिक राजनैतिक ,प्राज्ञिक लगायतका यावत क्षेत्रहरुमा आफूलाई समर्पित गर्न सक्नु पर्छ । अहिले त  निवृत्तहरुको साझा चौतारीको रुपमा संस्था स्थापित भै सकेका छन । त्यसमा आवद्द भएर आफ्नो ज्ञान, सीप र अनुभवलाई रचनात्मक तथा सिर्जनात्मक काममा लगाउन सकिन्छ ।

निजामती सेवा र अन्य सेवावाट अवकाश प्राप्त जनशक्तिको ज्ञान सीप र अनुभवलाई सरकारी सेवामा उपयोग गर्ने नीतिगत तथा कानूनी व्यवस्था गर्न म.लेप.को वार्षिक प्रतिवेदन २०७९ मा समेत सरकारलाई सुझाव दिइएको छ । आशा गरौ, राज्यले यस्तो प्रकारको नीति छिट्टै ल्याई निवृत्तहरुको अनुभव र ज्ञानको भरपुर उपयोग गर्ने छ।