काठमाडौं । नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणसँग नजोड्न आग्रह गरेको छ । पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले नागरिकता विधेयकको सम्बन्ध भारत, चीनसहित कुनै पनि मुलुकसँग नभएको बताए ।
विश्वकर्माले एमालेले ल्याएको अध्यादेशमा कुनै परिवर्तन नगरेर विधेयक ल्याइँदा पनि अनावश्यक प्रश्न उठाइएको बताए । विधेयकमा गैरआवासीय नागरिकको विषय मात्र थपिएको उनको दाबी छ । उनले एमालेले प्रमुख प्रपितक्षी दलको हैसियत गुमाएको पनि टिप्पणी गरे ।
सदनले दोस्रोपटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत तत्कालिन राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएको थिएन । बर्तामान राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नागरिकता विधेयक आज प्रमाणीकरण गरेका हुन् ।
प्रमुख प्रतिपक्षीदल एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले विधेयकमा सरकार सोझो बाटो नहिँडेको प्रतिक्रिया दिए । उनले संंसद्बाट विधेयक पारित गरेर लैजाउनुपर्नेमा बाटो नाघेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणका बेला किन हतारो गरिएको भन्दै प्रश्न पनि गरे ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने नागरिकता विधेयक जारी गरेर राष्ट्रपतिले संवैधानिक दायित्व निर्वाह गरेको भन्दै धन्यवाद दिएका छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायित्व निर्वाह गरिदिँदा नागकिरताको मूल समस्या समाधान भएको प्रतिक्रिया दिए ।
बाबु आमा नेपाली नागरिक नै भएर पनि ठूलो संख्याका नागरिक नागरिकताविहीन भएको मूल समस्या नागरिकता विधेयक प्रमाणीकरणसँगै समाधानको बाटोमा गएको बताए । यसैगरी नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर न्याय गरेको प्रतिक्रिया दिएको छ । नाउपाले नागरिकता नहुँदा युवाहरुलाई अफ्ठ्यारो परेको भन्दै राम्रो काम भएको प्रतिकृया दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भने गरिकता विधेयक प्रमाणीकरण राष्ट्रहित विरूद्ध रहेको प्रतिकृया दिएका छन् ।संसदबाट यसअघि २ पटकसम्म नागरिकता विधेयक पारित भई राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन्।
प्रतिक्रिया