देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रविको आक्रोश

देशान्तर

काठमाडौ । ‘घण्टी बजाउनमात्र होइन– घण्टीले बजाउन पनि मिल्छ’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनको विरुद्ध सर्वोच्च अदालतमा निरन्तर मुद्दा पर्न थालेपछि दिएको माथिको आक्रोशपूर्ण अभिव्यक्ति कुनै पनि हालतमा राजनीतिक नेता र संसदीय अभ्यासभित्र पर्दैन । अनपेक्षित र रहस्यमय तरिकाले नेपालको मूल राजनीतिमा स्थापित हुन पुगेका विवादित टेलिभिजन प्रस्तोता लामिछानेको उत्ताउलो कथनले उनी राजनीतिमा परिपक्व छैनन् भन्ने स्वतः पुष्टि हुन्छ ।

उनीविरुद्ध अदालतमा मुद्दा परेपछि र संघीय संसद्मा समेत आवाज उठ्न थालेपछि आफू ‘इरिटेड’ भएको प्रतिक्रियासँगै चेतावनीयुक्त भाषामा उनले लेखेका थिए– ‘घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ ।’ होला उनलाई युवराज सफलहरूले सताएका होलान् र उनी इरिटेड भएका पनि होलान् तर देशको गृहमन्त्री भइसकेको मान्छे वा नीतिनियम बनाउने थलोका बहालवाला प्रतिनिधिले यस्तो भाषा प्रयोग गर्न मिल्छ ?

कानुनी राज्यमा त विधिसम्मत प्रतिवाद गर्ने हो ठोक्छु बजाउँछु भन्न मिल्छ ? अहिले घन्टीले बजाउन मिल्ने हो भने भोलि बन्दुक निर्वाचन चिह्न हुनेले बन्दुक पड्काउने ? खुकुरी निर्वाचन चिह्न हुनेले खुकुरीले छप्काउने ?
लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधवार दर्ता गरेका थिए । पेशी १७ गतेलाई तोकिएको छ । मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको लामिछानेको भनाइ छ । उनले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकाले जेठ ९ गते नै अदालतलाई बुझाएको पनि दाबी गरेका छन् ।

रविले सर्वोच्चको माघ १३ गतेको फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको बताएका छन् । रविलाई अन्याय भएको छ भने पनि अदालतले न्याय देला । सामजिक सञ्जालमा सक्रिय लामिछानेले प्रयोग गरेको यो भाषालाई उनका समर्थकले ताली पनि बजाउलान् र उस्तै परे विरोध गर्नेको टाउकोमा घन्टी पनि बजाउलान् के यस्तै खोजेको हो र सभ्य समाजले ? संविधानवाद मान्ने वा कानुनी राज मान्ने नेपाली समाज बनाउन भनेर हैन र रविले निर्वाचनमा भाग लिएको ? जिम्मेवार जनप्रतिनिधिले सदनमा पनि सडकमा पनि र समर्थकमा बीचमा पनि मर्यादित र शिष्ट शब्दसहित भद्र प्रतिवाद गर्न नसक्ने हो भने क्षति आफैँलाई हुन्छ ।

केही दिनअघि रास्वपाबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले सांसद बन्नका उपसभापति डीपी अर्याल र प्रवक्ता मुकुल ढकाललाई तीन करोड बुझाएको खबर बाहिरियो । यो खबर सार्वजनिक भएपछि ढाकाकुमारले विज्ञप्तिमार्फत खण्डन गरे । उनले व्यक्ति तथा दलको चरित्रहत्या गर्ने समाचार सम्प्रेषण गरेमा कानुनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् भने प्रवक्ता ढकालले निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको भन्ने पुष्टि गर्न चुनौती दिए । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको कुरा कसैले पुष्टि गरेमा जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत बताएका छन् । उनले पनि श्रेष्ठसँग दुई करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसबाट आफ्नो मानहानि भएकाले मुद्दा हाल्ने जनाएका छन् ।

आरोप लगाइएको दुई करोड ८४ लाखबराबर नै क्षतिपूर्तिको माग दावी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।’ प्रवक्ता ढकालले भनेका छन् ।