काठमाडौं । नेपाली नागरिकलाई अनागरिक बनाई भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने गिरोहमाथि प्रहरीको अनुसन्धान जारी रहँदा तत्कालीन प्रम एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको नाम पनि मुछिएपछि एमालेले संसद्मा ताण्डव नृत्य प्रस्तुत गरेको छ भने संसद् सञ्चालनका लागि भनी निरन्तर बसेको प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका नेताको बैठक पनि संशयको घेरामा परेको छ । तीनै दलका शीर्ष नेताका निकट र आफ्नतका नाम जोडिएको यस प्रकरणले अब कुन मोड लिने हो– सर्वत्र चासोको विषय बनेको छ । विगतमा जस्तै नेताका आसेपासे/आफन्त बच्ने र कर्मचारी अनि बवुरामात्र फस्ने खेल त होइन भनी जनमानसले प्रश्न गर्न थालेको छ । सबै ठूला दलका लागि परीक्षणको विषय बनेको यो इतिहासकै ठूलो प्रकरण कसरी अघि बढ्छ– यसबाट नै ती दलका शीर्ष नेता र दलको भविष्य तय हुने पनि बताइन्छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका गिरोहका सदस्यले बालुवाटार र सिंहदरबारमा नै पुगेर ओलीका निजी सचिवदेखि सल्लाहकारसम्मलाई करोडौं रकम बुझाएको बयान दिएपछि नक्कली शरणार्थी प्रकरणको छानबिन ओली र उनको दल एमालेतर्फ लम्किँदै गर्दा एमालेले सार्वजनिक समारोहदेखि संसद्सम्मै त्यसको रोष प्रकट गर्न थालेको छ । अनुसन्धानको सुरूमै एमाले सचिव एवं पूर्वउपप्रम टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप तानिएपछि अत्तालिएर प्रम पुष्पकमल दाहालसँग तारन्तर छलफल गरेका अध्यक्ष ओलीले अहिले आएर निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजिएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन् भने ओलीको पालाका गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईको नामसमेत जबरजस्त आउन थालेपछि सिंगो एमाले सरकारप्रति आक्रामक हुन थालेको छ ।
शरणार्थी प्रकरणमा गत बुधवार ३० जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको प्रहरीले अनुसन्धान अझै नसकिएको र जारी रहेको बताएपछि एमाले सशंकित भएको हो । पहिलो चरणमा मुद्दा दायर हुँदा थापा र राई परेका छैनन् भने पक्राउ परेका व्यक्तिको बयानमा उनीहरूको नामसमेत निरन्तर आइरहेको छ । औचित्य र आवश्यकताविना नै शरणार्थी समस्याको दीगो समाधान पहिल्याउन कार्यदल गठन गरिनु र कार्यदलकै माध्यमबाट नेपालमै बाँकी रहेका भुटानी शरणार्थीको अभिलेख तयार पार्न खोजिनुले नै सन्देह उत्पन्न गरेको हो । माओवादी छाडेर एमालेमै बसेका नेता, उनीहरूका परिवारका सदस्य तथा सल्लाहकारको नाम आउँदासम्म पर्ख र हेरको अवस्थामा रहेको एमाले त्यतिबेला आक्रामक भयो– जतिबेला अध्यक्ष ओलीका सचिवालयका सदस्य र सल्लाहकारले पनि पैसा बुझेको बयान गिरोहका सदस्यले नै दिए ।
अदालतमै सुरू भयो बयान
५९ दिन लामो अनुसन्धान गरी १७ जनालाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको प्रहरीले पक्राउ परेका र फरारसहित ३० जनाविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई शिफारिस गरेको छ । संगठित अपराधमा अनुसन्धान गरेको प्रहरीले अभियुक्तहरूमाथि पाँचवटा कसुरमा मुद्दा चलाउन शिफारिस गरेको छ ।
संगठित, ठगी, किर्ते, राज्यविरुद्धको कसुर र भ्रष्टाचारमा समेत सजाय दिलाउनुपर्ने प्रहरीको निष्कर्ष छ । प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालय जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ । उक्त मुद्दाका आरोपीसँग बयान सुरू भएको छ । शुक्रवार गिरोहका नाइकेद्वय केशव दुलाल र सागर राईसँग अदालतले बयान लियो । अब आइतवारदेखि क्रमिक रूपमा सबै आरोपीको बयान हुनेछ ।
आरोपीले यसअघि प्रहरीसँगको बयानमा नाम लिएका कतिपय व्यक्ति भने अझै अनुसन्धानमा तानिएका छैनन् । अदालती बयानका क्रममा पनि उनीहरूले थप व्यक्तिको नाम लिएमा र न्यायाधीशले आवश्यक ठानेमा ती व्यक्तिलाई उतिबेलै उपस्थित गराउने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया