जस्तो शंका थियो– भयो त्यस्तै । अर्थात् नक्कली भुटानी शरणार्थी समस्या, हात्ती आयो, हात्ती आयो, फुस्सामा परिणत भएरै छाड्यो । जुन आशंका दुई साताअघि व्यक्त गरिएको थियो– प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा त्यो मुद्दा दर्ता गरेपछि पुष्टि भएको हो । छानबिन प्रक्रिया, मुख्य अभियुक्त जति छन्– तिनका ढोकामा पुग्दै नपुगी फनक्क फर्केको देखेपछि नै त्यो अड्कल सुरू भएको थियो, उनीहरू अभियुक्त बन्नबाट जोगिएपछि झन छर्लङ्ग भयो । बाहिरका हल्लाखोर तथा नाफाखोरलाई मात्र दोषी तुल्याएर छानबिनको कर्मकाण्ड टुंगिएको छ । नक्कली र सक्कली छुट्याउने सम्पूर्ण नाटक लगभग सकिएको छ । अदालतबाट फैसला आउँदासम्म अब कोही पनि दोषी ठहरिने छैनन् । ठोस प्रमाणको अभावमा सबैले सफाइ पाउनेछन् ।
त्यो किनभने तत्कालीन, प्रधानमन्त्री, गृहमन्त्री र गृहसचिव, जसका कारण सम्पूर्ण काण्ड खडा भयो, तिनले छानबिनअगावै त्यस प्रक्रियाबाट अभयदान पाइसकेका छन् । उनीहरू कसैले पनि सजाय पाउने त के कुरा– अनुसन्धानकर्तालाई चिनजान गर्न पुलिस चौकीसम्म पनि पुग्नुपरेन । तैपनि प्रहरी भनिरहेछ, दोषीमाथि कारबाही भएरै छाड्छ ।
पूर्व प्रम तथा नेकपा एमालेका अध्यक्ष केपी ओली, जसको आदेशबाट गृहमन्त्री रामबहादुर थापाले करिब एक हजार नेपालीलाई भुटानी शरणार्थीको प्रमाणपत्र दिलाउने प्रपञ्च रचेका मात्र थिएनन्– अभियान नै चलाउन लगाएका थिए । गृह सचिव प्रेमकुमार राईले प्रम र गृहमन्त्रीको आदेशको अवज्ञा गर्ने सवालै थिएन, किनभने त्यो झण्डै दुई तिहाई बहुमतको कम्युनिष्ट पार्टीको एकलौटी सरकार थियो । त्यसले लोग्ने मान्छेलाई आइमाई र आइमाईलाई लोग्ने मान्छे बनाउनेबाहेक सबै काम गर्न सक्थ्यो । त्यही शक्ति र जनादेशको प्रयोग गरेर ओली एण्ड कम्पनीले सक्कली नेपालीलाई नक्कली भुटानी तुल्याएका हुन् । बाँकी अरूले त त्यसको लाभ उठाएका मात्र हुन् ।
त्यसैले उनले भुटानी शरणार्थीका विभिन्न शिविरमा गएर पहिलेको गन्तीमा छुट भएको भन्ने निहुँमा शरणार्थीको नयाँ लिष्ट तयार गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेर नक्कली भुटानी शरणार्थी अमेरिका निर्यातको बाटो खोलेका थिए । त्यही निर्देशन, अहिलेसम्मकै सबैभन्दा ठूलो मानिएको समस्याको जन्मस्थल हो । बडो स्पष्ट छ, त्यसको बीजरोपणकर्ता भनेका ओली थिए । उनले पटक-पटक दोहोर्याएका छन्– उनको चाहना, थियो, भुटानीका नाममा केही नेपालीले अवसर पाऊन् । त्यसका निम्ति कार्यदल आवश्यक थियो, त्यो गठन गर्न गृहमन्त्रीलाई आदेश दिने पनि उनी नै हुन् । त्यसरी सहसचिव बालकृष्ण पन्थीनेतृत्वको कार्यदल बनेको थियो ।
भुटानबाट जुनसुकै कारणले नेपाल आएका शरणार्थी किन नहोऊन्– यथार्थमा ती सबै नेपाली मूलका भएकाले नेपालीकै सन्तति थिए । नेपालमा आएपछि संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग गुहारेर नेपाल सरकारले उनीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त शरणार्थीको दर्जा प्रदान गरेको हो । कालान्तरमा तिनलाई अमेरिका, क्यानाडालगायत केही युरोपेली देशमा बसोवास गराउने योजना बनेकाले त्यसको फाइदा नेपालले उठाएको हो । ओलीलाई त्यसका निम्ति स्याबासी दिनुको बदला निन्दा र भत्र्सना गर्न थालिएको छ । यति त्यो साँच्चै अपराध नै हो भने त्यसका मुख्य अभियुक्त उनै हुन् । अरू भनेका आदेश तथा निर्देशन पालनकर्तामात्र हुन् । जसको आदेशले सबै कामकारबाही भएको हो– उसलाई कारबाही नगरी चलेको मुद्दाको नियति के हुन्छ, त्यो परिणाम बताउन ज्योतिष देखाइरहन पर्दैन ।
तैपनि माननीय ओली एमालेलाई नक्कली भुटानी शरणार्थी मामलामा मुछ्न खोजेको आरोप लगाएर संसद् अवरुद्ध गर्न जुटेका छन् । आश्चर्यको कुराचाहिँ के छ भने उनलाई कसैले किटेर त्यस्तो आरोप लगाएकै छैनन् । खासगरी काँग्रेस र माओवादीले त्यस्तो आरोप लगाउनुपर्ने थियो । लगाएका छैनन् । उनीहरू आफ्नै घाउ स्याहार्न व्यस्त छन् । एमालेका नेतामाथि त्यास्तो आरोप लगाउने आँट र हिम्मत जुटाउनै सकिरहेका छैनन् । तर एमालेका ओली, चोरको खुट्टा काट् भन्न नपाउँदै खुट्टा उचालेर बर्बराउन थालेका छन्– खबरदार ! एमालेलाई दोष लगाउन पाइन्न ।
ओलीले एक हजार नेपालीलाई अमेरिका पठाउने अवसर खेर नजाओस् भनेर त्यो आदेश दिएर प्रक्रिया अघि बढाउन लगाएका थिए । अमेरिकाले भुटानी शरणार्थीका लागि दिएको कोटामध्ये एक हजार पठाउन अझै बाँकी थियो, त्यो संख्यामा भुटानी शरणार्थी नेपालमा थिएनन् । त्यही संख्या पु¥याउन ओलीले त्यो उपाय अपनाएका थिए । आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो हुन पुग्यो– संसद् भंगको उनको निर्णयले । उडायो सपना सबै हुरीले भनेझैं भयो ।
यसै बीच पहिले नेपालबाट अमेरिका पुगिसकेका भुटानी शरणार्थीमध्ये तिब्बती पनि थिए । तिनलाई अमेरिकाले प्रोत्साहन गरेको पनि सही हो । तर तिनकै आडमा अमेरिका छिरेका कतिपय तिब्बतियन, छानबिनबाट चिनियाँ नागरिक भएको पुष्टि हुनु अमेरिकी चासो बढ्नुको प्रमुख कारण बन्न पुग्यो । ओलीमाथि चारैतिरबाट दबाव बढ्न थाल्यो । अनि, उनी किन नबर्बराऊन् ! तैपनि उनले धैर्य र संयमता गुमाएका छैनन् । शायद, उनको शरीरमा रहेको मृगौलाको जिनको चमत्कार हुन सक्छ त्यो ।
प्रतिक्रिया