देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काभा भलिबलको सेमिफाइनलमै रोकियो नेपाल

देशान्तर

काठमाडौं । नेपालले दोस्रो र तेस्रो सेटमा गरेको प्रदर्शनलाई निरन्तर राख्न नसक्दा एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबलको फाइनल खेल्ने सम्भावनालाई गुमाएको छ ।

एनएससी – काभा अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतविरुद्ध फाइनल खेल्ने सम्भावना गुमाएको नेपाल चौथो र पाँचौ सेट नराम्रोसंग गुमाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहल घरेलु टोली र घरेलु दर्शकलाई स्तब्ध र निराश बनाउँदै कजाकस्तानले फाइनलमा स्थान बनाएको छ ।

सेमिफाइनलको संघर्षपूर्ण पहिलो सेट ३०–२८ ले गुमाएको थियो नेपालले । तर आकर्षक खेल प्रदर्शन गर्दै दोस्रो र तेस्रो सेट शानदाररुपमा आफ्नो पक्षमा पार्दै फाइनल यात्राको सम्भावनालाई बलियो बनाएको थियो ।
दोस्रो सेट पनि २५–१६ले र तेस्रो सेट २५–१५ ले शानदार रुपमा जितेको नेपालले चौथो र पाँचौ सेट भने क्रमशः २५–१८ र १५–७ ले गुमाएको थियो ।

चौथो र पाँचौ सेटमा धेरै गल्ती गरेका नेपाली खेलाडीहरुले दोस्रो र तेस्रो सेटको प्रदर्शनलाई निरन्तर राख्न सकेनन् । भलिबलमा निकै बलियो मानिएको कजाकस्तानको यो दोस्रो रोजाईको राष्ट्रिय टोली हो ।
अब कजाकस्तानले फाइनलमा उपाधिका लागि भारतसंग आइतबार खेल्नेछ । शुक्रबार नै भएको अर्को सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको हो ।