जारी यात्राको चौतारीमा केहीबेर सुस्ताउँदा
पार गरेको बाटोको भोगाइ सम्झँदा
ती वस्तु चर्ने पाटनहरू
खेतीका फाँटहरू
उकाली, ओराली, भीर, पाखाहरू
यी सबै तरेर आए
केवल पढ्नको लागि सपना साँचेर
बाबुको सपना– ठूलो मान्छे होस् भन्ने
सहरको रमझममा आइपुग्दा
छक्क परेको, पक्क परेर हेरेको
अनि हक्क न वक्क भएका ती क्षणहरू
माया पिरती खोज्ने उमेर
त्यसको लय टिप्दाको सुसेलीहरू
त्यो गुदगुदी, त्यो हलचल मनको
त्यो आँधी, त्यो बेग दिलको
खै कता पुगे, कता अहिले ?
धेरै मेटिइसके, केही अस्पष्ट नबुझिने
मनभित्र चाङ लागेका असीमित पत्रहरूमा कुदिएका
केही अझै बुझिने ती
आज अँध्यारो भएको दिनमा
विगतलाई यसरी फुकाउँदा
सम्झनाको तरेली बनेको
त्यसमा चिप्लेटी खेल्दा
आनन्द आउँदो रहेछ
बिर्सिइँदो रहेछ एक पल –
चाउरी परेको अनुहार
जीर्ण बनेको शरीर
भएभरका औषधिको बलमा
लट्ठी टेकेर यात्रा जारी राखेको अवस्था
सम्झिने–बिर्सिने यो आलोपालोमा
रोमाञ्चित भइँदो रहेछ अझै
यस्तै एउटा क्षण हो, मित्र
जारी यात्राको लहडले दिएको
पलभित्रको एक पल
सिर्फ रम्न–रमाउनको लागि
हिजोको सम्झिँदा, आजको बिर्सिने क्षणभंगुर क्षण ।
प्रतिक्रिया