देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीको भारत भ्रमण संशयमा

देशान्तर

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पुस १० गते नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बन्दा सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै मिलेर काम गर्न आफू तत्पर रहेको बताएका थिए ।

त्यतिबेला मोदीले लेखेका थिए ‘नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई छ । भारत र नेपालबीचको विशिष्ट सम्बन्ध गहिरो सांस्कृतिक र जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई थप सुदृढ गर्न म तपाईंसँग मिलेर काम गर्न प्रतीक्षारत छु ।’ नेपाल र भारतको सम्बन्ध ऐतिहासिक रहेकाले यहाँका हरेक राजनीतिक परिवर्तनमा उनीहरूको साथ र हात रहने बताउने गरिन्छ । विगतमा नेपालमा प्रधानमन्त्री बन्ने वित्तिकै भारतको भ्रमण गरिहाल्ने प्रचलन जस्तै रहेको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनपछि माओवादी अध्यक्ष प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुनेबित्तिकै भारतको नभई चीनको भ्रमण गरेर निरन्तरतामाथिको क्रमभंगता गरेका थिए । तर, अहिले चीनले पटकपटक प्रचण्डलाई भ्रमणका लागि बोलाउँदा जान मानेका छैनन् भने उनी नयाँ दिल्ली जाने ‘ग्रिन सिग्नल’ कुरेर बसेका छन् ।

उनकै भ्रमण चाँडो मिलाउनकै लागि भन्दै परराष्ट्रमन्त्री नियुक्त गरिएको प्रचारमै आएको थियो । हुन पनि परराष्ट्रमन्त्री एनपी साउदले पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु गर्ने बताएर यस कुराको पुष्ट्याइ गरेका थिए ।

प्रचण्डको भारत भ्रमणको मिति ठ्याक्कै तय नभए पनि यसबारेमा तयारी भने नेपालले गरिरहेको छ । भारत भ्रमण यसै महिनाको तेस्रो साता गर्ने गरी तयारी परराष्ट्रले गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको एजेन्डाबारे दुवै देशका अधिकारीले छलफल गरिरहेका छन् । ‘मिति तय गर्नका लागि तयारी पनि पुगेको छैन’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘दुवै देशका अधिकारीले साझा एजेन्डामा छलफल गरिरहेका छन्, एजेन्डा तय भएपछि मात्र मिति घोषणा हुन्छ ।’ परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्रमन्त्रीहरू, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरूसँग प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भ पारेर परामर्श गरेका छन् ।  पूर्वपरराष्ट्रमन्त्रीहरूले प्रधानमन्त्रीको भ्रमण सद्भावनाका लागि भए सामान्य तयारी गर्नुपर्ने, तर ठोस एजेन्डासहित भए त्यसबारे जानकारी दिएपछि मात्रै सुझाव दिन सकिने टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले भारत नै पहिला भ्रमणमा जानु आफ्ना लागि कुनै बाध्यकारी अवस्था नरहेको बताउँदै यस पटकको पहिलो भ्रमण भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै दुवै देशका लागि ऐतिहासिक बन्ने बताउने गरेका छन् ।