देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा कारबाहीको माग 


काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारूढ गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेसमा द्वन्द्व बढेको छ । संस्थापन पक्षकै एक प्रभावशाली नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नु र अन्य पनि केही प्रभावशाली व्यक्तित्वहरूको यस प्रकरणमा नाउँ जोडिएकोले पनि सभापति शेरबहादुर देउवा अप्ठेरोमा परेका छन् । इतरपक्षले मुलुककै प्रतिष्ठामा आँच पुर्‍याएको यो काण्डमा संलग्न जो कसैलाई कारबाही गर्नुपर्छ भनी माग गर्नाले पनि कांग्रेसभित्र दुई धार देखिएको हो । यसमा सभापति देउवाको मौनताले झन् संलग्नतालाई बल पुर्‍याएको उनीहरूको ठहर छ ।

पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण प्रभावशाली नेता हुन् । सुरुमा रायमाझीलाई लुकाएको एमालेलाई त्यतिबेला दबाब पर्‍यो जतिबेला खाँण पक्राउ परे । लोकलाज छोप्नकै लागि भए पनि एमालेले रायमाझीलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्‍यो । संसद्मा सभामुखले रायमाझीको सांसद पद निलम्बन भएको जारी सदनलाई दिए ।

तर नेपाली कांग्रेसले भने खाँणका बारेमा कुनै निर्णय लिएन । सभापति शेरबहादुर देउवाका अति निकट खाँणलाई देउवाले काखी च्यापिरहे । यो प्रकरणमा आरजु राणाको समेत नाम मुछिएपछि त झन् देउवा पूरै डिफेन्सिभ भए । मौन बसे । उनले आफ्ना अर्का निकट डा. प्रकाशशरण महतमार्फत खाँणको बचाउमा पत्रकार सम्मेलन गराए । प्रवक्ताको जिम्मेवारीमा रहेका महतले सभापतिको कम बोल्ने बानी भएको भनेर ढाकछोपको स्पष्टीकरण दिएका थिए ।

प्रहरीले अहिलेसम्म गरेको अनुसन्धानका आधारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवाका पालामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा योजना निर्माणदेखि आवश्यक प्रक्रिया मिलाउनेसम्मका गतिविधि भएको देखिएको छ ।  सभापति शेरबहादुर देउवा यो प्रकरणमा मौन रहनु संशयको विषय हो ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मादेखि  वरिष्ठ नेता डा शेखर कोइराला र अरू युवा नेताहरू प्रदीप पौडेललगायतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका नेताहरूलाई पार्टीबाट निलम्बन गर्नुपर्ने आवाज जोडतोडले उठाइरहेका छन् । तर सभापति शेरबहादुर देउवाले सुनेको नसुन्यै गरिरहेका छन् । देउवाले पदाधिकारी बैठक बोलाएर यसबारेमा छलफल गरे पनि खाँणको निलम्बनलाई महत्व दिएनन् । आरजुको नाम जोडिएपछि बैचैन भएका देउवाको यो कायरपनप्रति पार्टीभित्रै आक्रोश बढेको छ ।

महामन्त्री गगन थापाले यस विषयमा सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । तर खाँण निकट सहमहामन्त्री महेन्द्र यादवले त उनको पक्राउलाई लोकतन्त्रमाथिको आक्रमणका रूपमा लिनुपर्ने कुतर्कसमेत गरेका थिए । महामन्त्री थापाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने प्रकरण ठगीको विषय मात्र होइन यो संगठित अपराध भन्दै मानव बेचविखन र नेपाली नागरिकको अनादर मात्र होइन देशद्रोह नै  भएको धारणा सार्वजनिक गर्दै यस्तो जघन्य अपराधमा संलग्न जो कोही हुन्, हदैसम्मको सजायका भागीदार भएको उल्लेख गरेका छन् ।

थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय भएको र पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ । तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न नसक्ने र बोक्न नहुने बताएका छन् । थापाले गम्भीर आरोप लाइसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्ने अन्यथा पार्टीले निलम्बन गर्नुपर्ने माग गर्दै आएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्लाई नै तरंगित बनाउने नक्कली भुटानी शरणार्थी प्रकरणमा देउवाका निकटस्थहरू पक्राउ पर्नु र देउवाले मौनता देखाउनु भने अचम्मको विषय बनेको छ ।

 सभापति देउवाका कारण नेपाली कांग्रेसका कार्यकर्ताको लाजले शिर निहुरिएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाएर खाँणलाई निलम्बन गर्नुपर्ने पक्षमा छन् । नेविसंघले खाँण पक्राउ परिसकेपछि यो प्रकरणमा संलग्न जो कोहीलाई पनि ढाकछोप गर्ने वा चोख्याउने काम नहोस् भनेर विज्ञप्ति जारी गरेको थियो । कांग्रेस नेताहरू गुरुराज घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, भरत खड्कालगायतले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर संलग्नलाई कारबाही गर्न माग राखेका थिए । पार्टी भित्रैबाट यत्रो दबाब हुँदा पनि देउवा भने चुइँक्क बोलेका छैनन । जिम्मेवार पदाधिकारीले नै उनीहरूमाथिको आरोप किनारा नलाग्दासम्म निलम्बनको आवाज उठाउँदासमेत त्यसको बेवास्ता गर्ने देउवाको उदेकलाग्दो मौनता  र खाँणप्रतिको उदारताले कांग्रेस अहिले विभाजित छ ।