काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको समूह विभाजन सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक गरेको हो ।
समूह विभाजन अनुसार नेपाल समूह ए मा परेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।
यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो । माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।
प्रतिक्रिया