देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्डले बोलाए १० दलको बैठक : नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर छलफल गर्ने भएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साढे २ बजे सिंहदरबारमा बस्नेछ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा सुझाव लिन नेताहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रातोपाटीलाई जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले १० दलका नेताहरूलाई सिंहदरबारमा बोलाउनु भएको छ । आगामी नीति तथा कार्यक्रमका विषयमा सुझाव माग्ने भनिएको छ’ आचार्यले भने,‘सबै सुझाव समेटेर नीति तथा कार्यक्रममा समेट्ने तयारी गरिएको छ ।’

प्धानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम पार्टीभित्र, सत्तारुढ दल र प्रतिपक्ष सहित सबैसँगै सुझाव मागेर ल्याउन लागेका छन् । आजको बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी हुने बताइएको छ ।

यसअघि आज बिहान   प्रधानमन्त्री  दाहाल र सभामुख देवराज घिमिरेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको थियो । भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा समितिहरूको बैठक सुरु भएपछि संसद्ले लय समातेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउन अब सहज हुने अपेक्षा गरेको बताए । सरकारको नीति तथा कार्यक्रम यही जेठ ५ गते ल्याउने तयारी गरेको छ ।

सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए । समितिको बैठकहरू उत्साहपूर्ण रूपमा सुरु भएको उल्लेख गर्दै सभामुख घिमिरेले सचिवालयले नीति तथा कार्यक्रम र बजेटको तयारी गरिसकेको बताए । उनले सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको सांसदहरूको गुनासोलाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनेमा आफू विश्वस्त रहेको बताए । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभामुख घिमिरे आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।