स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जितेको छ । सोमबार विहान सकिएको खेलमा बार्सिलोनाले स्पान्योललाई ४–२ गोल अन्तरले पराजित गरेपछि बार्सिलोनाले लिगका ४ खेल बाँकी हुँदै उपाधि जित्न सफल भएको हो ।
बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले छाडेपछि र जाभी हर्नान्डेजले क्लब सम्हालेपछि पहिलो उपाधि जित्न सफल भए । बार्सिलोनासँग पराजित भएको स्पान्योल भने रेलिगेसनको खतरामा रहेको छ ।
बार्सिलोनालाई खेल जिताउन रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा एलेक्स बाल्डे र जुल्स कुन्डेले एक एक गोल थपेका थिए । यस्तै स्पान्योलका जेभिएर पुएडो र जोसेलुले एक एक गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
११ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाले सुरुआती अग्रता लिएका थिए । यसैगरी २० औं मिनेटमा बाल्डेले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाको अग्रता दोब्बर भएको थियो ।
लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल खेलको ४० औं मिनेटमा गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० को आरामदायी अवस्थामा रहेको थियो ।
स्पान्योलमाथि लगातार आक्रमण बुनेको बार्सिलोनाले ५३ औं मिनेटमा चौथो गोल गरेको थियो । कुन्डेले बार्सिलोनका लागि चौथो गोल गरेका थिए ।
तर, ७३ औं मिनेटमा पुएडोले गोल गर्दै स्पान्योललाई खेलमा फर्काउने प्रयास गरेका थिए ।
यसैगरी दोस्रो हाफको अतिरिक्त समयमा जोसेलुले गोल गर्दै स्पान्योलको अग्रता ४–२ मा झारे पनि यसले नतिजामा कुनै प्रभाव पारेन र अन्ततः बार्सिलोना ४–२ गोल अन्तरले विजयी हुँदै स्पष्ट ३ अंक तालिकामा थप्न सफल भयो ।
यो खेलपछि बार्सिलोनाको ३४ खेलबाट ८५ अंक भएको छ भने दोस्रो स्थानको रियल म्याड्रिडको समान खेलबाट ७१ अंक रहेको छ ।
अब दुवै टिमले ४ खेल खेल्न बाँकी रहँदा बार्सिलोना १४ अंकले अघि रहेको छ । अबका सबै खेल बार्सिलोनाले हार्दा र रियलले जित्दा पनि उपाधि विजेता बार्सिलोना नै बन्ने छ ।
प्रतिक्रिया