काठमाडौं । संसदको संसदीय सुनुवाइ समितिमा ६ दलका सांसदहरू हुने भएका छन् ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विभिन्न दलबाट समितिमा रहने सांसदहरूको संख्या टुंगो लगाएको हो।
सुनुवाइ समितिमा नेपाली कांग्रेस र एमालेका समान ५÷५ जना सांसद हुने भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले १÷१ सदस्य पाएका छन् ।तीन दलका शीर्ष नेताहरूबीच संसदीय सुनुवाइ समितिको सभापति नेपाली कांग्रेसले पाउने टुंगो लागेको थियो ।
हालै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सिफारिस गरेको छ । अहिले कायममुकायम प्रधानन्यायाधीश रहेका कार्की संसदीय सुनुवाइबाट अनुमोदन भए प्रधानन्यायाधीश नियुक्त हुने छन । यसैबीच नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका दलहरूले संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बुझाएका छन् ।
जसमा नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी घर्ती छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाले प्रदीप यादवको नाम पठाएको छ ।
राष्ट्रियसभाबाट भने कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मा मनोनयन भइसकेका छन् ।
प्रतिक्रिया