देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चुइगम आयातमा बाहिरियो ४१ करोड

देशान्तर

काठमाडौँ । चालू वर्षको ९ महिनाको अवधिमा ४१ करोड १७ लाख रुपैयाँ बराबरको चुइगम आयात भएको छ ।

चालू आर्थिक वर्षमा विदेशबाट चुइगम आयातमा ४१ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

नेपालमा विश्वका ६ वटा देशबाट चुइगम आयात हुँदै आइरहेको छ । जर्मनी, भारत, टर्की, अमेरिका र बेलायत तथा नाम नखुलेको देशबाट समेत चुइगम आउने गरेको छ ।

साउनदेखि चैत महिनासम्मको यस अवधिसम्म १२ लाख ५१ हजारभन्दा धेरै किलो चुइगम आयात भएको छ । भने यसबापत आयातकर्ताले राज्यलाई ३३ करोड ११ लाख रुपैयाँ राजश्व तिरेका छन् ।

भारतबाट सबैभन्दा धेरै ४० करोड २२ लाख रुपैयाँको चुइगम भित्रिँदा अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको छ ।

बेलायतबाट ५ लाख ४२ हजार, टर्कीबाट ४१ लाख ६४ हजार, नाम नखुलेको स्थानबाट १० लाख ७६ हजारको चुइगम आयात हुँदा जर्मनीबाट १६ हजारको चुइगम भित्रिएको तथ्याङ्क छ ।

९ महिनाको अवधिमा नेपालबाट १० लाख ९२ हजार रुपैयाँ बराबरको १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको छ । नेपालबाट निर्यात भएको सम्पूर्ण चुइगम भारततर्फ गएको छ ।