देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यस्तो छ आजको प्रि–बजेट माथि छलफलमा सांसदहरुको भनाई (कस्ले के–के भने पूर्ण पाठ)

देशान्तर

काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि-बजेट) माथि छलफल सुरु भएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा सांसदहरुले आफ्ना धारणाहरु व्यक्त गरेका छन् ।

प्रि–बजेटमाथि भएका छलफलको २७ गते अर्थमन्त्री डा.महतले जवाफ दिनुहुनेछ । उक्त छलफलमा सांसहरुले सरकारलाई बजेट केन्दित विषयमा दबाब दिएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बन्नु भयो ।

सांसद सिंहले बोल्नका लागि सभामुख देवराज घिमिरेसँग आकस्मिक समय माग गर्नुभएको थियो । तर सभामुख घिमिरेले सांसद सिंहलाई समय नदिएपछि त्यसको बिरोधमा उहाँले गञ्जी र सर्ट फुकालेर बिरोध जनाउनु भयो ।

सांसद सिंह संसद बैठकमै अर्धनग्न भएपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गर्नुभएको थियो ।

सभामुख घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गर्नुभयो भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गर्नुभयो।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०।८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको आज बैठकमा आ.व. २०८०।८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गर्नुभएको हो ।

उहाँले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भएपनि बजेटको सिलिङ घटाउनु नहुने बताउनु भयो ।

नेकपा एमालेका सांसद विष्णु पौडेलले ६.५ प्रतिशत पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले ६.५ प्रतिशत पुगेको आर्थिक वृद्धिदर खस्किनुमा गठबन्धनको सरकार जिम्मेवार रहेको बताउनुभएको हो ।

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याइएको जस्तो भएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्बभन्दा कमी रकमले नहुने स्पष्ट पार्नुहुदै राज्य व्यवस्था परिवर्तन भए पनि शासकीय स्वरूप परिवर्तन हुन नसक्दा जनताले मार खेपिरहनुपरेको उल्लेख गर्नुभयो ।

यसैगरी, नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई पपुलिस्ट नभई यथार्थपरक बजेट आवश्यक रहेको बताउनुभएको छ ।

सोही छलफमा बोल्दै सांसद कार्कीले मुलुकका अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेकाले पपुलिस्ट भन्दा यथार्थपरक बजेट आवश्यक रहेको बताउनुभएको छ ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थीका नाममा नेपालीहरू बेच्न संलग्नहरूलाई दूधको दूध र पानीको पानी हुने गरी छानबिन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले विगतको उदाहरण दिँदै यस्ता घटनामा सदन केही दिन ताते पनि पछि अर्को प्रकरण आउने र त्यसै सेलाउने गरेको भन्दै यो पटक त्यस्तो हुन नहुने बताउनुभएको ।

नेपाली कांग्रेसकी सांसद डा।आरजु राणा देउवाले भौतिक पूर्वाधार निर्माणमा पारदर्शिता कायम गर्नुपर्ने बताउनुभएको छ ।

समयमा विकास निर्माणको काम नसक्ने र ठेकेदार सम्पर्कविहीन हुने गरेको भन्दै उनीहरूलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो ।

नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट विनियोजन अराजक ढंगले गरिएको बताउनुभएको छ ।

सोमबार विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै नेता पन्तले विकास बजेटमा सरकारले जथाभाबी बजेट विनियोजन गरेको बताउनुभएको छ ।

उहाँले यसरी स्रोत सुनिश्चितताको अर्थ मन्त्रालयसँग रेकर्ड समेत नभएको बताउनुभएको छ ।

राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गर्नुभएको छ ।

उहाँले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपन माग राख्दै सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गर्नुभएको छ ।

सोही छलफलमा उहाँले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताउदै इन्धनको आयातका कारण बजेट घाटा भएको भन्दै विद्युतीय उर्जाको बढी प्रयोग गर्ने कुरामा बजेटमा प्राथमिकता हुनुपर्ने बताउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सांसद रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा संलग्न कोहीपनि उम्किन नहुने बताउनुभएको छ ।

लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउँदै गइरहेको बताउदै सिंगो देश र अन्तर्राष्ट्रिय समूदायले भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी उम्किन नहुने बताउनुभयो ।

आगामी आर्थिक वर्ष २०८०।८१ का लागि सरकारले संसदमा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै नीतिको निरन्तरताका रुपमा रहेको बताउनुभएको छ ।

सांसद डा स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताउनुभएको छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राख्नुभयो ।

प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीले प्रतिनिधि सभा सदस्य डा। अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गर्नुभएको छ ।

राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले महँगी घटाउने, भ्रष्टाचार शून्यतामा झार्नुपर्ने र ढिलासुस्तीलाई हटाउनुपर्ने अहिलेको प्रमुख आवश्यक्ता भएको बताउनुभएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफलमा सहभागी हुँदै उहाँले सरकारले जडिबुटी, जंगलको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यक्ता रहेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य आश्माकुमारी चौधरीले कृषकलाई बीउबिजन र मल सहजै पाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भूमिहिन, सुकुम्वासीहरुको समस्या समाधान गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य असिम शाहले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनताले बुझ्ने गरेर पारदर्शी ढंगले अनुसन्धान हुनुपर्ने बताउनु भयो ।

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले तीनै तहका जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालय र सरकारी क्याम्पसमा भर्ना गर्ने नीति बनाउन माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लाहरुमा यार्सागुम्बा टिप्न जानेहरुकोको मृत्यु र बेपत्ता हुनेगरेका भन्दै ति ठाउँहरुमा व्यापक सुरक्षाकर्मी, औषधि लगायत आवश्यक व्यवस्थापन गर्न माग गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य किरणकुमार शाहले मन्त्रीहरुले आफ्नो क्षेत्रमा मात्रै बजेट हाल्ने गरेको भन्दै असन्तुष्टि जनाउनु भयो । सबै क्षेत्रहरुमा समान रुपमा बजेट विनियोजन गर्नुपर्ने उहाँले बताउनु भयो ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भूटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताउनुभएको छ ।

शून्य समयमा बोल्दै सांसद केसीले शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री समेत मुछिएको विषय सार्वजनिक भइसकेकोले निष्पक्ष छानविनका लागि आयोग बनाउन माग गर्नुभएको हो ।

नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य दिलकुमार थापा रावल पार्वतीले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता लय मिलेको निबन्ध जस्तो भएको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा आगामी वर्षको बजेट र सिद्धान्तमाथि छलफल गर्दै गठबन्धन सरकारले चालू बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भएपनि त्यो पूरा नहुने स्थिति स्पष्ट रहेको उहाँले बताउनुभएको हो ।