काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल आज पनि जारी छ ।
आज सिंहदरबारमा मध्यान्ह १२ बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभएको छ ।
भेटका क्रममा भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगी गरेको घटनाका बारेमा छलफल भइरहेको छ ।
उनीहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ । यसअघि बिहीबार उनीहरूबीच भेटवार्ता भएको थियो ।
नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यसपछि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएकोे थियो ।
भुटानी शरणार्थी प्रकरणमा एक पछि अर्को नेता जोडिन थालेपछि उनीहरुको भेट तिब्र रुपमा बढेको छ ।
ओलीले यस भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई षड्यन्त्र पूर्वक समाउन खोजेको घटना रहस्यमय भएको बताउनुभएको थियो ।
यस प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नाम पनि बयानको क्रममा आएको र प्रहरीले त्यसलाई हटाएको एमाले स्रोतले दाबी गरेको छ ।
खाण गृहमन्त्री भएका बेलामा गृहसचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेसँगै खाणको भूमिकामाथि पनि प्रश्न उठेको हो ।
यस्तै पूर्वगृहमन्त्री एवं एमालेकै नेताका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पनि पक्राउ परेका छन् । उनीसँगै बादलका छोरा प्रतिक, इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
यस्तै टोपबहादुर रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् ।
यस घटनामा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । यसमा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ ।
प्रतिक्रिया