देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

खेलाडीहरूलाई उच्च सम्मान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

देशान्तर

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत प्रचण्डले उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई दिनुभएको हो ।

उहाँले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त पनि गर्नुभएको छ ।

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने कुरा नयाँ सुनिने भए पनि त्यसका लागि आफू उत्साहित भएको बताउनुभएको छ ।

प्रशिक्षक देसाईले नेपाली टिमले एसिया कपसम्मको यात्रा गर्न धेरै मेहनत गरेको पनि बताउनुभएको छ ।

पछिल्लो दुई महिनामा उत्कृष्ट लयमा रहेको नेपालले लगातार १० खेलमा जित हात पारेको छ ।

आइसिसी विश्वकप लिग–२ को पछिल्ला १२ मध्ये ११ खेल जितेको नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालसहित वेस्ट इन्डिज र श्रीलंकासहित १० टिमले खेल्दैछन् ।

विश्वकप छनोटपछि नेपालले एसिया कप खेल्नेछ ।

लगातार १० खेलमा जित निकाल्दा नेपाली टिममा अभूतपूर्ण एकता देखिएको छ भने टिमले उत्कृष्ट प्रदर्शन गरेको छ ।
नेपाल पाकिस्तान र भारत रहेको समूहमा परेको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने तालिका छ ।