काठमाडौं । बारा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवलाई सभामुख देवराज घिमिरेले आज संसदको कानुन न्याय तथा मानवअधिकार समितिको कक्षमा शपथ गराएका हुन् ।
यादव यही वैशाख १० मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा निर्वाचित भएका थिए । उपनिर्वाचनमा तनहुँ–१ र चितवन–२ बाट निर्वाचित र स्वर्णिम वाग्ले र रवि लामिछानेले भने यसअघि नै शपथ लिइसकेका छन्।
शपथ पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै यादवले आर्थिक विकास र समृद्धिका लागि सरकार स्थिर हुनुपर्नेमा जोड दिएका छन् । संसदका लागि संसदीय समिति महत्त्वपूर्ण रहेको बताउँदै उनले स्थायित्वका लागि समितिहरुले पनि काम गर्नुपर्नेमा जोड दिए । अस्थिरताले कसैलाई हित नगर्ने भन्दै यादवले सोही कारण जनतामा वितृष्णा जाग्न सक्ने भएकाले सबैपक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले सरकारको स्थायित्वका लागि दलहरुको बीचमा छलफल गरेर अगाडि बढ्नुपर्ने पनि बताए ।
प्रतिक्रिया