काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजीपीडितले अघि सारेका मागका विषयमा सरकारसँग छलफल गर्ने बताउनुभएको छ ।
आज काठमाडौंको शान्तिबाटिकामा मिटरब्याजीपीडितसँग कुराकानी गर्दै भट्टराईले यस्तो बताउनुभएको हो ।
उहाँले उनीहरूले अघि सारेका माग जायज भएकाले यस विषयमा सरकारसँग छलफल गर्ने बताउनुभयो ।
बाध्यतामा परी ऋण लिएका किसानहरूको घरखेत नै बेच्नुपर्ने गरी सुदखोरले असुली गर्ने काम सदाका लागि बन्द हुनुपर्ने उहाँको माग थियो ।
भट्टराइले मिटरब्याजीसम्बन्धी सरकारले गठन गरेको आयोगको कार्यदेशलाई बलियो बनाउनुपर्ने मिटरब्याजीपीडितको माग जायज भएको धारणा राख्नुभयो ।
जाली तमसुकका कारण मुद्धा खेप्न बाध्य भएकाले अहिलेलाई मुद्दाहरू स्थगित गराउँदै जाली तमसुक आयोगलाई बुझाउने र जाँचबुझ गरेर मात्रै हल गर्ने विषयमा सरकारसँग कुरा गर्ने पनि उहाँले बताउनुभयो ।
मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष विभिन्न ६ बुँदे माग राख्दै आएको छ ।
चक्रवृति तथा मिटरव्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया