काठमाडौं । सदनमा एउटा सिट सधैं खाली हुन्छ । प्रतिनिधिसभाका सदस्यहरूले खाली सिट र नियमावलीप्रति सभामुख देवराज घिमिरेको पटकपटक ध्यानाकर्षण गराउँदै आएका थिए । १० ओटा बैठकमा अनुपस्थित सदस्यको पद स्वतः खारेज हुने नियमावलीबारे ध्यानाकर्षण गराइरहँदा सभामुखले भने कुनै जवाफ दिएका थिएनन् । अन्ततः हिउँदे अधिवेशनको अन्तिम बैठकले भने नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभाको अर्को अधिवेशनले निर्णय गर्ने भएको छ ।
कोइरीले आफू अस्वस्थ भन्दै इमेल गरेपछि बिदा स्वीकृतिको प्रस्ताव पेस भएको थियो । तर सत्तारूढ सांसदहरूले फरार सांसदलाई बिरामी भनेर बिदा स्वीकृत गर्न नसक्ने अडान लिए । अरु चार सांसदको विदा स्वीकृत भएको छ । कोइरीको भने बिदा अस्वीकृत भएको छ ।
एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सूचना सुनाएपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालगायतका सांसदहरूले विरोध जनाएका थिए । महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाले सांसद कोइरीले पहिलो पटक संसद्मा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए ।
मधेस आन्दोलनको समयमा सुरक्षाकर्मीको हत्या गरेको अभियोग लागेका कोइरीले संसद्मा पुगेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि तत्कालीन गृहमन्त्री बनेका रवि लामिछानेको आलोचना सुरु भएको थियो ।
संसद्मा प्रश्न उठेपछि फरार सांसद् कोइरीले सभामुखको निर्वाचनका बेला भने अनुपस्थित थिए ।
कोइरीका बारेमा सदनमा पटकपटक कुरा उठे पनि एमालेका सांसद भने उनको बचाउमा थिए । एमाले सचिव रघुवीर महासेठले त उनलाई पक्राउ गर्न सदनबाटै चुनौती दिएका थिए । मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या भएको थियो । कोइरी यही अभियोगका प्रतिवादी हुन् । आन्दोलनमा घाइते भएका विकलाई आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर हत्या गरेका थिए । सोही मुद्दामा उच्च अदालत जनकपुरले २०७४ मंसिर १९ मा कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
हत्या अभियोगमा कोइरीसहित सञ्जयकुमार साह, प्रदीप साह माझी र मोहन ठाकुरलाई अभियुक्त बनाइएको छ । फरार रहेकै बेला एमालेबाट टिकट पाएर उनी निर्वाचित भएका हुन् । उनले माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गरेका थिए ।
प्रतिक्रिया