देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पादकीय

उपनिर्वाचनको संकेत, सच्चिनै पर्ने 

देशान्तर

हालै सम्पन्न तनहुँ–१ चितवन–२ र बारा–२ को उपनिर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेजस्ता पुराना र ठूला दलहरूले आफ्नो वर्चस्व जोगाउन सकेनन् भने मतदाताले परम्परागत दलहरूलाई छाडेर नयाँ दलहरूलाई रोज्दा कांग्रेसले यसअघि जितेको सिटसमेत गुमाएको छ, भने एमालेले पनि मंसिरको चुनावभन्दा उपनिर्वाचनमा आफ्नो मत संरक्षण गर्न सकेन । यस परिणामले के संकेत गर्दछ भने, ऐतिहासिक र पुराना स्थापित दलहरू र यिनका शीर्ष नेता सच्चिनै पर्ने भएको छ । यदि पुरानै ढर्रामा चल्ने र गुट उपगुटमै रमाउने हो भने विस्तारै यी दलहरूले आफ्नो अस्तित्वसम्म जोगाउन नसक्ने देखिन्छ ।

बारामा जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनको बलमा चुनाव जिते पनि तनहुँ र चितवनमा कांग्रेस एमालेले आफ्नै पुरानो साख जोगाउन नसक्दा गढका रूपमा परिचित क्षेत्रमा पनि कांग्रेसले पराजय व्यहोरेको छ । चितवनमा गत मंसिरमा सम्पन्न आम निर्वाचनमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारी मतले विजय हासिल गरेका थिए भने सरकारमा गएर छोटो समयमा विवादित हुँदा पनि लामिछानेले झनै मत बढाएबाट मतदाताको रुझान नयाँ नेतृत्व र दलप्रति बढेको पुष्टि भएको छ ।

पौडेलको स्थायी क्षेत्र र गढका रूपमा चिनिएको यस क्षेत्रमा उनको अनुपस्थितिमा कांग्रेसले आफ्नो साख जोगाउन असफल भयो । बरु चुनावको केही दिनअघि मात्रै कांग्रेस छाडेर रास्वपामा गएका स्वर्णिम वाग्लेलाई मतदाताले भारी मत दिएर जिताएर पठाइदिए ।

विभिन्न आरोप खेपे पनि नयाँका रूपमा लामिछानेलाई चितवनवासीले अनुमोदन गरेका छन् । तर, तनहुँ १ को अवस्था भने फरक हो । २०४८ सालदेखि नै कांग्रेसको गढको रूपमा चिनिएको यो क्षेत्रबाट नेपाली कांग्रेसका वरिष्ठ नेता (हालका राष्ट्रपति) रामचन्द्र पौडेलले २०७४ बाहेकका सबै निर्वाचन जिते । पौडेलको स्थायी क्षेत्र र गढका रूपमा चिनिएको यस क्षेत्रमा उनको अनुपस्थितिमा कांग्रेसले आफ््नो साख जोगाउन असफल भयो । बरु चुनावको केही दिनअघि मात्रै कांग्रेस छाडेर रास्वपामा गएका स्वर्णिम वाग्लेलाई मतदाताले भारी मत दिएर जिताएर पठाइदिए ।

मतदातामा देखिएको यो परिवर्तन आकस्मिक भने होइन । यसको संकेत गत मंसिरको चुनावले नै देखिएको थियो । चुनावको केही महिनाअघि मात्रै स्थापित रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले जुन रूपमा मत पाए, त्यति नै बेला ठूला र पुराना भनिएका यी दलमाथि खतराको घण्टी बजिसकेको थियो । मंसिरमा जुन संकेत देखिएको थियो, वैशाखमा त्यसको पुष्टि भएको छ । तनहुँबाट जितेका वाग्ले कांग्रेसबाटै चुनाव लड्न चाहन्थे । उनी यसअघिका दुई वटा चुनाव (स्थानीय तह र आम निर्वाचन)को घोषणापत्र लेख्नमा सक्रिय भएका थिए । पार्टीका सामाजिक, आर्थिक र सांगठनिक विभिन्न क्षेत्रमा रहेर काम गरेका उनलाई नेपाली कांग्रेसको नेतृत्वले अवसर दिन चाहेन र अन्ततः उनी रास्वपामा गए र चुनाव जितर आएका छन् ।

अहिलेका मतदाताले इतिहास हेर्न छाडेका छन् । विगतमा को कति जेल बस्यो, कसले कति दुःख पायो भनेर सुनाउने कुराले मतदातालाई छोएको छैन । बरु उनीहरूले सेवा प्रवाह र सुशासनको खोजी गर्न थालेका छन् । त्यसैले त लामो आन्दोलन, भूमिगत र जेल जीवनका कथा दोहोर्‍याउने पुराना पुस्ताको नेतृत्वमा रहेका दलको सट्टा युवा पुस्ताको नेतृत्वमा रहेका दलप्रति मतदाताको आकर्षण देखिएको छ । खासगरी, नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा सांसद आरजु राणा देउवाका निकटस्थ केही नेताहरू पार्टीभित्रै पनि तीव्र आलोचित छन् । महाधिवेशनमा अत्यधिक बहुमत ल्याएकाले केन्द्रीय समितिमा उनीहरूविरुद्ध निर्णय हुने सम्भावना त छैन । त्यसैले त देउवा जे चाहन्छन्, त्यही निर्णय हुँदै आएको छ नेपाली कांग्रेसमा । जसलाई कांग्रेसकै स्थानीय नेता तथा कार्यकर्ता र मतदाताले मन पराएका छैनन् । तलबाट शक्ति खिच्ने र माथिबाट निर्णय लाद्ने देउवाको कार्यशैली अपाच्य भएको छ । कार्यशैलीमा मात्रै होइन, अनुहारमा पनि जनताले विकल्प खोजेका छन् र त चुनावमार्फत त्यसको जवाफ पनि मतदाताले दिएका छन् । अहिले देउवा र उनका निकटस्थलाई विश्वास गरेर बस्न नसकिने स्पष्ट सन्देश दिएका छन् ।

कांग्रेसमात्रै होइन, यो चुनावले एमाले र माओवादीलाई पनि राम्रै झट्का दिएको छ । तनहुँ, बारा र चितवनमा एमालेले अघिल्लो चुनावमा ल्याएको मत पनि जोगाउन असमर्थ रह्यो । उम्मेदवार परिवर्तन गरेर पनि मतदाताले एमालेलाई रुचाएनन् । केन्द्रबाट केपी ओलीको तजबिजीमा हुने निर्णयलाई उनकै कार्यकर्ता र मतदाताले पनि मत विद्रोह गरिदिएका छन् । ओलीले कसैलार्ई लक्षित गरी गर्ने उखान टुक्के भाषण र कुतर्कलाई मतदातालाई बलियो जवाफ दिएका छन् । माओवादीको कतै उपस्थिति नै देखिएन । न उम्मेदवार, न मतदाता ।

अहिले नीति, नेतृत्व र कार्यशैली यी सबैमा परिवर्तन चाहेका छन् जनताले । इतिहास रट्ने र त्यसैको ब्याज खाने नेताहरूबाट आम जनता वाक्क भइसकेका छन् । इतिहास एउटा पाटो होला, तर, वर्तमान र भविष्यका बारेमा जनताको चिन्ता देखिएको छ । पार्टीमा चार दशकदेखि एउटै अनुहार, सत्तामा सधैं उनीहरूकै आलोपालो, राज्यको स्रोत र साधनमा बाँडीचुँडी प्रवृत्ति अब जनताले सहन छाडेका छन् । पुराना पार्टीभित्र पनि आशालाग्दा केही नेताहरू छन् ।

इतिहासलाई वर्तमानसँगै जोड्दै भविष्यसम्म सुरक्षित गर्ने योजना भएका नेताहरू छन् । उनीहरूसँग नीति छ, योजना पनि छ र काम गर्ने आँट छ । अब पनि त्यस्ता नेताहरूले अवसर नपाउने हो भने भीरबाट लड््न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न भने जस्तैै हुन्छ । जनताले इतिहास बोकेका दल र तिनका लागि सुध्रिनका लागि ‘अलार्म’ बजाइदिएका छन् । यो संकेत हो, सुधारिए भविष्य छ, अन्यथा छैन । सच्चिनू या सक्किनू । अब निर्णय गर्ने पालो ठूला र पुराना भनिएका दलहरूकै हो ।