काठमाडौं । मुलुकको सबैभन्दा पुरानो, ऐतिहासिक र ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पछिल्लो समयमा शीर्ष नेतृत्व सत्तालिप्सामात्र चुर्लुम्म डुब्दा विधानले तोकेको बैठकहरू त परै जाओस्, पदाधिकारी र पूर्वपदाधिकारीको बैठकको तदर्थवादी निर्णयको भरमा सञ्चालन हुँदा पार्टीको संगठन कता र सिद्धान्त र नीति के हो भन्ने प्रश्न स्वयं कांग्रेसजन, शुभचिन्तक र लोकतन्त्रवादी मतदाताले उठाउन थालेका छन् । त्यसको पछिल्लो प्रमाणित परिणाम तनहुँ र चितवनको उपचुनावमा कांग्रेसले पाएको मतबाट प्रष्ट भएको छ । वैचारिक, नीतिगत र कार्यक्रमका दृष्टिले पनि कांग्रेस अन्य दलभन्दा अग्रणी रहे पनि कांग्रेसले आफूलाई पछिल्ला दिनमा समयअनुकूल वैचारिक छलफलसमेत गर्न सकेको छैन ।
संवैधानिक व्यवस्थाअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्नेपर्ने बाध्यताले नेतृत्व चयनमा सिमित रहेको कांग्रेस १४औं महाधिवेशनपछि नीति महाधिवेशन गर्ने विषयले चर्चा पाए पनि त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरूको चासो छैन । जसले गर्दा कांग्रेसप्रति जनतामा भरोसा र विश्वास टुट्ने त होइन भन्ने प्रश्न उठ्न थालेको छ ।
कांग्रेसले बुथ केन्द्रदेखि केन्द्रीय कार्यसमितिसम्म आठवटा तहगत संरचना निर्माण गरेको छ भने १३ वटा भ्रातृ संस्था, १८ वटा शुभेच्छुक संस्था र ३५ देशमा जनसम्पर्क समिति छन् । तर त्यसलाई कांग्रेसले कामकाजी बनाउन नसक्दा ती संरचनाहरू निष्प्रभावित बन्न पुगेको छ । पार्टी प्रणाली कब्जा गरेर बसेको नेतृत्वको कार्यशैलीप्रति बढ्दै गएको असन्तुष्टि जनआक्रोशमा परिणत हुने खतरा बढ्दै गएको छ ।
संगठन निर्माणमा भन्दा कसरी सत्तामा पुग्न सकिन्छ भन्ने ध्याउन्न कांग्रेसको मूल नेतृत्वसहितका नेताहरूमा देखिएको छ । त्यसले पार्टीका सबै निकाय र भ्रातृ संगठनहरू तदर्थवादमै चल्दै आएका छन् ।
विधानअनुसार ६ महिनाभित्र गरिसक्नुपर्ने काममा डेढ वर्ष बित्दा पनि केन्द्रीय कार्यसमितिमा एक दर्जन सदस्य मनोनयन गर्न बाँकी छ भने संगठन, प्रचारप्रसारलगायत २८ वटै विभाग रिक्त छन् । पार्टीको आय र व्ययको सम्पूर्ण हिसाबकिताब राख्नुपर्ने कोषाध्यक्ष पद खाली छ । पार्टी विधानले कांग्रेसको केन्द्रीय कार्यालय नै महामन्त्री मातहत हुने व्यवस्था गरेको छ भने पार्टीको संगठन, संरचनालाई क्रियाशील बनाउने जिम्मेवारी पनि महामन्त्रीकै काँधमा छ तर पार्टीका गतिविधि ठप्प छन् । नीति महाधिवेशनका लागि भन्दै महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा समिति गठन गरेको थियो ।
तर, उक्त विषय चर्चाका लागि चर्चा गर्ने मात्र बन्न पुगेको छ । भूगोल र क्षेत्रअनुसार फरक–फरक दलसँगको गठबन्धनले पार्टीको वैचारिक धरातल कमजोर भएको र कांग्रेसको शक्ति खुम्चिन पुगेको छ भने पार्टीप्रतिको आस्था र विश्वासका आधार संगठन गर्ने होइन सत्ता र शक्तिका लागि कांग्रेसमा लाग्ने र पद नपाए छाडेर हिँड्ने प्रवृत्ति मौलाउँदै गएको छ । त्यसले कांग्रेसलाई मात्र होइन मुलुकको सिंगो लोकतान्त्रिक शासन पद्धतिलाई थप कमजोर बनाउने छ ।
प्रतिक्रिया