काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल विकास र विभिन्न फुटबल गतिविधि संचालन गर्न साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता भएको छ ।
साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साउदी अरेबिया फुटबलका अध्यक्ष यासेर अल मिसेहलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । एन्फाले एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो ।
फुटबलको पारस्परिक हित, प्रवर्द्धन, विकास र सफलताका लागि दुई फुटबल संघबीच सुदृढ सम्बन्ध विकास गर्न तथा विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेखा तय गर्नु सम्झौताको उद्देश्य रहेको एन्फाले जनाएको छ ।
सम्झौतासँगै दुबै संघले महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेलका लागि अवसरहरू प्रदान गर्नेछन् ।
यस्तै युथ फुटबल डेभलपमेन्ट र युथ कार्यक्रम सम्बन्धी कार्यहरु आदानप्रदान हुनेछ ।
एन्फा र साउदीबीच प्रशिक्षक तालिमको कार्यक्रम आयोजना गर्ने तथा प्रशिक्षक तालिम मिलेर आयोजना गरिने सम्झौतामा उल्लेख छ ।
अध्यक्ष यासर फिफा काउन्सिल सदस्य र एएफसी विकास समितिका अध्यक्ष हुनुहुन्छ । एन्फा अध्यक्ष नेम्वाङ एएफसीको विकास समितिका उपाध्यक्षहुनुहुन्छ ।
प्रतिक्रिया