देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ठूला दलको औचित्य समाप्त : मेटमणि चौधरी 

देशान्तर

दाङ । नेकपा एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब ठुला दलको औचित्य समाप्त भएको बताएका छन् । 

एकीकृत समाजवादी दाङले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको विशेष भेलालाई सम्बोधन गर्दै चौधरीले भने, ‘ठूला दलले बदलिदो समयको माग र जनताको मनोविज्ञान बुझ्न सकेनन् ।

पुरानै चिन्तन र पुरानै मनोविज्ञान बोकेर उनीहरु हिँडिरहेका छन् । तसर्थ अब यिनीहरूको औचित्य समाप्त भइसकेको छ ।’

ठूला दलसँग जनतामा जाने कुनै पनि नयाँ कार्यक्रम नभएको आरोप लगाउदै पूर्व मन्त्री समेत रहेका चौधरीले एकीकृत समाजवादी अबको वैकल्पिक शक्ति बन्ने विश्वास व्यक्त गरे । 

‘मैले पहिलेदेखि भन्दै आएको छु । पुराना दल र तीनका नेतृत्वका शैलीका कारण यिनीहरूको विकल्प जनताले खोजिरहेका छन् । यिनले जनताका समस्या समेत सुन्न छाडेका छन् ।’

उनले थपे, ‘तत्कालीन एमालेको नेतृत्वबाट पार्टी चल्नै नसक्ने हाम्रो आँकलन अहिले सत्य सावित भएको छ । त्यसकारण नयाँ वैकल्पिक कम्युनिष्ट शक्तिको रुपमा एकीकृत समाजवादीको उज्ज्वल भविष्य छ ।’

चौधरीले नेता कार्यकर्ताहरूलाई जनताका समस्या उठान गर्न समेत निर्देशन दिएका थिए ।