देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विनोद ! अझ कति कुरा बाँकी थिए


२०७९, चैत्र ३० गते बिहीबार आजको दिन यसै वर्षको सबभन्दा खराब दिन रह्यो ।
एउटा म्यासेज आएको रहेछ मेरो मोवाइलनमा :

Rapid drop in Binod Daju Blood Pressure.

From Amod Dixtit

Sent: 13-4-2023 11M19M22

अमोद दीक्षित विनोद दीक्षितका साहिँला भाइ हुन् । प्रसिद्ध संस्था एनसेटका संस्थापक विनोदका भाइबहिनीहरू सब आआफ्नो क्षेत्रमा राम्रो गरिरहेका छन् । आमोद एकेडेमिकली बढी बलिया छन् । सिर्जनामा, कलममा पिता मदनमणि दीक्षितको विरासत थामेका हुन् विनोदले । मेरो बाल्यकालदेखिको मित्रता पनि विनोदसँगकै हो । तबदेखिको परिचय जब हामीमा बोलचाल पनि भएको थिएन । विनोद मिलनसार भएका हुनाले नबोले पनि एक मुस्कान दिएर सडक क्रस गर्दथे । उनीहरू महावीर स्थान अझ उतातिर बस्थे वीरगन्जमा । मलाई याद छैन । विनोदसँग यस्तरी सडक क्रस गर्ने दिनचर्या २०००८—९, कहिलेतिरको हो । पछि माडसापको परिवार मालटोलकै एक घरमा सर्‍यो । विनोदसँगको सही संगत त्यसै बखतदेखिको हो । उनीहरू बसेको कुमालटोलको घर साबुत छ भने अझै पनि चिन्न सक्छु । त्यसको कारण छ । त्यो कारण अहिले आवश्यक देखिन्न ।

त्यो घरमा म जान्थेँ संकोच मानीमानी । फिल्मी गीतहरू गाउँथे । मामुहरू पनि फिल्मका सौखिन हुनाले फिल्मी गीतको चर्चा पनि राम्ररी हुन्थ्यो । त्यसपछि विनोदसँगको मित्रता कहिल्यै टुटेन बीचमा भेट नहुँदा फोन हुन्थ्यो । लामै समयसम्म भेट्दा उस्तै आत्मीय हुन्थ्यौं हाम्रो सम्बन्धको खासियत यही थियो, अहिले कैयौं कुरा सम्झिरहेको छु । विनोदका साथ म देशका र भारतका कति ठाउँ घुमेको छु ।

विनोद स्वभावले सहयोगी र सरल हुन् । आफैंलाई सरल पनि मान्दथे होलान् । उनको आफ्नो उपनाम सरल कुमार राखेका थिए । सरल कुमारका नाउँले पनि उनले लेखेका छन् । सरल कुमार, उपनाम हुनाले, एक दुई लेख सरल कुमारका नाउँले मैले पनि लेखेको छु । समीक्षामा ।
साँच्चै भन्ने हो भने, अखबारमा लेख्ने अभ्यास मेरो समीक्षाबाटै सुरु भएको हो । त्यो घरको पेपरजस्तो लाग्दथ्यो । विनोदले सम्पादन गर्न थालेपछि हामी सल्लाह गरेर नयाँ स्तम्भ पनि थप्न सक्दथ्यौँ ।
मेरो एउटा उपन्यास निमित्त नायक विनोदकै प्रभावरी प्रेसबाटै छापिएको हो । तर समय यस्तो कडा थियो, २०४३ को हामीले प्रेसको नाउँ दिएनौं । प्रकाशकको नाउँ पनि दिएनौं कि याद छैन नि मित्रनायक’को प्रथम संस्करणको आवरण प्रख्यात चित्रकार मनुजबाबु मिश्रले बनाएका थिए । विनोदकै घनिष्टताका कारण । त्योप्रति अब मसित छैन ।

विनोदको विवाहका लागि केटी हेर्न म र विनोद गएका थियौं । केटी त्रिवि कीर्तिपुरमा पढ्थिन् अर्थशास्त्र । केटी चढेको बसमा विनोद र म पनि चढ्यौं । केटी मलाई सिम्पल र सोबर लागिन् । उनलाई त्यसको ज्ञान थिएन ।
पछि एक ठाउँमा बसेर विनोद, सूर्यनाथ र मैले छलफल गर्‍यौं । विनोद त्यति (किन) थिएनन् । त्यति बेला । तरपछि उनी स्वयं आफ्नी श्रीमती विनिताका यति प्रशंसक भए कि मलाई पनि सन्तोष भयो । विनोद विनिताका गुणहरू मलाई सुनाउँथे । आफूलाई भाग्यमानी मान्थे, गुणी श्रीमती पाएकामा ।

विनोदमा प्रतिभा सृजन, प्रतिभा बहुमुखी थियो । उनले नेसनल कलेजमा पढ्दै जन गल्सवर्दीको नाटक दस्ट्रइफमा अभिनय गरेका थिए । रुसबाट अर्थशास्त्र पढेर आएपछि त्रिचन्द्र कलेजमा केही समय अर्थशास्त्र पढाएका पनि थिए । गीत कविता, नियात्रा, कथा, संस्मरण सब लेख्दथे । बहुमखी प्रतिभा थियो तर रुचि उनको छरिएको थियो । उनी सेयरमा पनि हात हाल्थे, कहिले बेपारका कुरा पनि सोच्दथे, अखबारमा लागुञ्जेल त्यसलाई राम्रैसित चलाए, मलाई लाग्छ, रुचि धेरै हुनु त राम्रो हो, तर सिर्जनाले भने अलि एकोहोरोपनको माग गर्छ । विनोदले जति लेखे उम्दा लेखे जति लेख्न सक्थे संख्यामा त्यति लेख्न पाएनन् ।

हुन त नेसनल कलेजमै पढ्दा उनीहरूले एउटा लटा भन्ने पत्रिका निकालेका थिए । यता मेरो पनि लखनउको ‘उत्कर्ष’ भन्ने पत्रिका हिन्दी कविता छापिएको थियो । तर एउटा संयोग कस्तो भयो भने २०२० वैशाख १ गतेको रूपरेखामा हामी दुवैको कविता छापियो । विनोदको कविताको शीर्षक थियो म पापी कोपिला रहेछु ।

मलाई लाग्छ एकैदिन हामी दुवैको सिर्जनात्मक यात्राको त्यो थालनी थियो । त्यसपछि जसरी निरन्तर तर कहिलेकाहीँ अलिक ग्यापका साथ उनी लेखनमा लागे म पनि लागिरहेँ । उनी मेरा समकालीन हुन् । सिर्जनात्मक रूपमा पनि समकालीन । यता उनको रोगका कारण भेट कम हुन्थ्यो । फोनमा भेट्दा रोगबारे र आफ्नो उपचारबारे डिटेलमा सुनाउँथे । मामुको आशोचमा हामी गएका थियौं । विनोद अर्कै कोठामा थिए । विनिताले लिएर गइन् । हामीले फोटो पनि खिचाएका थियौं । प्लेटलेट बढाउने इन्जेक्सन लिएर आएका थिए । यस्ता रोगहरू अब म पनि चिन्न थालेको छु । मेरो पनि एक पटक प्लेटलेट कम भएको भनिएको थियो । उमेरले गर्दा हामी यस्ता कति रोगसित परिचित हुन्छौं । जसको पहिले नाउँ पनि सुनेको होइँदैन ।

एक दिन एउटा फोन आयो, अपरिचित, नै भनुँ, आशय थियो, विनोद सिरियस छन् । अल्का अस्पतालको रुम २३ मा । हामी परिवारै पुग्यौं । हात मिलायौं, फोटो खिँचायौं । एक–दुई दिनमा डिस्चार्ज हुने कुरा गर्थे, उनले भने अहिले मैले धेरै काम गर्नुछ । मैले भने– तिमीमा प्रतिभा छ, जे पनि लेख्न सक्छौं । आउ, मिलेर गर्ने काम मिलेर पनि गरौंला ।’

त्यहीँ उनले सन्तुष्ट मुद्रामा भने, ‘मेरो चीलगाडी’ सेकेन्ड एडिसन निक्ल्यो नि ।’ फोटो खिचाएर माथिका कुरा गरेर म विदा भएको थिएँ । मलाई थाहा थिएन त्यही भेट मेरो बाल्यकालका एक प्रिय मित्र विनोद दीक्षितसँगको अन्तिम भेट हुनेछ ।
आमोदको ३० गतेको म्यासेजले म एकदम गम्भीर भएँ । जुन स्थितिको बयान थियो । त्यो अन्तिम स्थितिमा आउँछ । मैले फेरि कसैलाई केही सोध्ने आँट गरिनँ । म एउटा खबर अभ्वायड गर्न आफ्नो बन्दै गरेर बसेँ । तर सुनुँ भनेको खबर आखिर सुन्नै पर्दाे रहेछ । म के भनुँ, म विनोदको पारिवारिक मित्र थिएँ । उनका सारा परिवार मलाई जान्दछ, म सारालाई लगभग जान्दछु, सारालाई धैर्यको शक्ति आओस् विनितालाई यस्तो क्षणमा सम्हालिन र सम्हाल्ने काम कामना गर्दछु । उनी सहनशील छन् । यो सहनशीलताको सबभन्दा ठूलो परीक्षाको घडी हो । धेरै भन्न आएन मलाई ।

विनोद ! त्यतिका काम गर्नुछ भनेर तिमी हिँडिदियौं मेरो मित्र । साहित्यले कति पाउने आशा राखेको थियो, विनोद, मेरो त, मित्रताको जमिनमा ठूलो खाडल बनेको छ अब ।