देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसमा सहमति जुट्दै

देशान्तर

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण सरकारलाई पूर्णता दिन नसकेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।

एक साताअघि कांग्रेस नेता एनपी साउदलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिएर शपथ दिलाएका प्रधानमन्त्री दाहालले अब कांग्रेस भागमा परेका अरू मन्त्रालयमा मन्त्री थप गर्नेछन् । कांग्रेससहित १० दलीय गठबन्धनमा यसअघि सभापति शेरबहादुर देउवा निकट नेताहरू पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भइसकेका छन् । कांग्रेसका भागमा परेका स्वास्थ्य, कानुन र युवा तथा खेलकुद मन्त्रालय रिक्त छन् ।

साझेदार दलहरूबीच चैत १६ गते भएको मन्त्रालयको भागबन्डामा कांग्रेसले आठ मन्त्रालयसहित नौ मन्त्री पाउने समझदारी भएको थियो । तर कांग्रेस नेताहरूले पार्टीभित्रको गुटगत सन्तुलन मिलाउनैपर्ने र राष्ट्रपति रामचन्द्र पौडेल निकट नेतालाई पनि सहभागी गराउनुपर्ने जनाउँदै प्रधानमन्त्री दाहालसँग थप एक मन्त्रालय लिने सहमति गरेका हुन् । नेता शेखर कोइराला नेतृत्वमा रहेको संस्थापन इतर समूहले तीन मन्त्रालयको दाबी नछाडेपछि सभापति देउवाले गठबन्धनका दलहरूसँग सहमति गरेर थप एक मन्त्रालय कांग्रेसले लिएको हो ।

एक राज्यमन्त्रीसहित चारजना सरकारमा पठाउन तयार भएको इतर पक्षका नेताहरूले आफ्ना निकटलाई जानकारी गराएका छन् । सरकारमा नेता शेखरको प्रस्तावअनुसार उपसभापति धनराज गुरुङ र डिकबहादुर लिम्बूलाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउनेछन् भने राष्ट्रपति रामचन्द्र पौडेलको प्राथमिकतामा सुरेन्द्र आचार्यलाई मन्त्री बनाउनेछ ।

कांग्रेसको भागमा परेका कानुन र युवा तथा खेलकुदका साथै अब खानेपानी मन्त्रालय इतर पक्षले पाउने बताइएको छ भने संस्थापन पक्षबाट मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।