देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्ततः प्रचण्डको भ्रमण भारतबाटै

देशान्तर

काठमाडौं  । प्रधानमन्त्री नियुक्ति हुनेबित्तिकै भारतबाटै विदेश भ्रमणको सुरुआत गर्ने उद्घोष गरेका प्रचण्डको सपना धेरैपछि आएर साकार हुने देखिँदैछ । उनको चाहना भ्रमणमात्र होइन, उनको नेतृत्वको सरकारको स्थायित्वसँग पनि जोडिएको राजनीतिक वृत्तमा चर्चा छ । आफ्नो भनाइलाई मूर्तरूप दिन उनले अर्को विशाल छिमेकी मुलुक चीनको भ्रमणको आग्रहलाई मात्र उपेक्षा गरेको होइन धेरै मुलुकका राष्ट्रप्रमुख सहभागी हुने कतार सम्मेलनमा समेत गएनन् । यसबाट के पुष्टि हुन्छ भने प्रचण्ड, आफ्नो पदको स्थायित्व र पार्टीको भविष्य सिद्धान्त मिल्ने चीनबाट भन्दा भारतबाट सुरक्षित हुने राजनीतिक जोड घटाउमा लागेको देखिन्छ । 

 वैशाखको पहिलो साता हुने अपेक्षा गरिएको प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भ्रमण वैशाख अन्तिम वा जेठको पहिलो साता हुने लगभग निश्चितजस्तै छ, प्रचण्डले भारत भ्रमणको निम्तो पाएपछि अहिले त्यसको तयारी पनि भइरहेको बुझिएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत पठाएको निम्तोपछि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीकै लागि भनेरै केही समयअघि परराष्ट्रमन्त्रीमा एनपी साउदलाई नियुक्त गरेका थिए । साउदले नियुक्त भएर शीतल निवासमा शपथ लिएपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै गर्दा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी आजैदेखि सुरु गरेको सञ्चारकर्मीहरूलाई त्यतिबेला नै बताएका थिए ।
वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने बताइए पनि तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने परराष्ट्र स्रोतले देशान्तरलाई जानकारी दिएको छ ।  मे १० तारिखमा भारतको कर्नाटकमा चुनाव छ । मे १९ मा भारतीय प्रधानमन्त्री मोदी केही दिनका लागि विदेश भ्रमणमा जाने भएकाले मे ११ देखि १८ को बीचमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण हुनेछ ।  

गएको पुसमा प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने सार्वजनिक रूपमा बताएका थिए । नयाँ दिल्लीसँग विश्वसनीय सम्बन्ध कायम गर्नका लागि  यसअघि कतारलगायतका भ्रमणमा नगएका प्रचण्ड भारतको भ्रमणलाई प्राथमिकतामा राखेका छन् ।  प्रधानमन्त्रीको भारत भ्रमणका लागि गृहकार्यहरू अघि बढाइएको र जलस्रोत र ऊर्जासहितका कतिपय विषयमा महत्वपूर्ण साझेदारी हुन सक्ने बताइएको छ । तर प्रचण्डको भारत भ्रमण आफू नेतृत्वको सरकारप्रति भारतको सदाशयता खोजीको लागि हो भन्ने घाम जत्तिकै छर्लंग छ । भारतीयहरूले सहकार्य गर्न सक्ने सही व्यक्ति आफू भएको देखाउनकै लागि लागि नै प्रचण्डले भारतभन्दा अघि अन्य देशको भ्रमण नगरेका हुन् । 

प्रधानमन्त्री बन्नका लागि एमाले नेतृत्वको गठबन्धन बनाउन भूमिका खेलेका माओवादी केन्द्रका नेता वर्षमान पुनलाई एमाले अध्यक्ष केपी ओलीले तपाईं आउनु भयो अब सबै ठीक भयो भनेका थिए । त्यतिबेला पुनः चीनमा उपचार गरेर फर्किएका थिए । त्यसकारण त्यो गठबन्धन बन्नुमा उत्तरको चाहना भएको छिपेको थिएनन् । प्रचण्ड प्रधानमन्त्री बनिसकेपछि भने पुरानै गठबन्धनमा फर्किएर सरकारको नेतृत्व गरिरहेका छन् । उनले दक्षिणको छिमेकीलाई आश्वस्त पार्न चाहन्छन् कि अब क्रमभंग हुँदैन ।  पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेपछि प्रचण्डले ‘क्रमभंग भएको’ भन्दै चीनको पहिलो भ्रमण गरेका थिए । त्यसपछिको दिल्लीसँगको चिसोपनालाई सुधार्न दोस्रो पटक प्रधानमन्त्री बन्न उनलाई सात वर्ष कुर्नु परेको थियो । 

तत्कालीन नेकपाले सरकारको नेतृत्व गर्दा प्रचण्ड  र ओली नेकपाका अध्यक्ष थिए । त्यही नेकपा नेतृत्वको सरकारको पालामा नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर अलग्गै नक्सा जारी गरेपछि नेपाल र भारतबीच दूरी बढेको थियो । नयाँ नक्सा जारी गरे पनि जमिनको स्वामित्व अझै पाउन सकेको छैन् । उत्तरी छिमेकीको हस्तक्षेप त्यसबेलामा प्रत्यक्ष देखिने गरी बढेको थियो ।  सरकारको नेतृत्व गरेयता प्रचण्डले आफ्नो सरकार उत्तरतिर नढल्केको देखाउन प्रयासरत छन् । उनले निम्तो पाएर पनि बआओ फोरममा उच्चस्तरीय नेपाली प्रतिनिधि पठाएनन् । प्रचण्डको भारत भ्रमणको चाँजोपाँजो मिलाउन भारतीय राजदूत नवीन श्रीवास्तवको दौडधुप दिल्लीदेखि परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म बाक्लिएको छ । प्रधानमन्त्रीको यस पटकको भारत भ्रमणबाट पछि देशले के पायो के गुमायो भन्ने चाहिँ भ्रमण पछि मात्र खुल्नेछ ।